कैलाश गाउँपालिकाको बजेट ४८ करोड ७८ लाख
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१÷८२ को नीति तथा कार्यक्रमका लागि ४८ करोड ७८ लाख ६७ हजार ७ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।सोमबार पालिकामा भएको १४ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरु अवलम्वन गरिएको जनाए । पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रम गर्दै लैजाने नीति समेत लिएको बताए ।
पालिकाले प्रदेशतर्फको आयतर्फ ८ करोड ८६ लाख २८ हजार ७ सय अनुमान गरेको छ भने गाउँपालिकातर्फ १ करोड ८४ लाख ३ हजार र संघतर्फ ३८ करोड ८ लाख ३६ हजार अनुमान गरेको छ । ब्ययतर्फ आर्थिक विकास तर्फ ३ करोड २७ लाख २९ हजार, पूर्वाधार विकासतर्फ ११ करोड ४ लाख ५० हजार, शुसासन तथा अन्तरसम्बन्धित अन्तरगत ७६ लाख ५ हजार ७ सय १८, सामाजिक विकासतर्फ २२ करोड ६० लाख ९३ हजार, वातावरण तथा बिपद्तर्फ ४० लाख ५० हजार र गाउँपालिका प्रशासनिक खर्चतर्फ १० करोड ६९ लाख ४० हजार बिनियोजित गरिएको छ ।
क्षेत्रगत नीतिमा किसान सूचीकरण कार्यक्रम, मकैबाली प्रवद्र्धन, एकलमहिला लक्षित कृषिप्रवद्र्धन, माटो परीक्षण आकस्मिक रोग कीरा नियन्त्रण, च्याउखेती तालिम तथा प्रवद्र्धन गरी कृषितर्फ ९० लाख ५१ हजार बजेट विनियोजन गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम, नमुना युवा कार्यक्रम, ५० प्रतिशत अनुदानमा रिटर्निग उद्यमशीलता कार्यक्रम सहित उद्योग विकासतर्फ ३१ लाख विनियोजन गरिएको छ । यस्तै गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटनका लागि जिपलाइन पूर्वाधारको निर्माण, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनलगायत पर्यटनतर्फ ५४ लाख बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुदतर्फ ४० लाख ५० हजार बजेट विनियोजन गरेको छ । चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पालिकाले शिक्षातर्फ संघ, प्रदेश र गाउँपालिकाको समेत गरी १५ करोड ३२ लाख ८१ हजार बजेट विनियोजन गरिएको छ । मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, नवजात शिशुको निःशुल्क उपचारका लागि सम्रग स्वास्थ्यतर्फ गाउँपालिका, प्रदेश र संघीय सरकारको रकम सहित ३ करोड ४० लाख ५० हजार रकम विनियोजन गरिएको छ । अध्यक्षसँग विपन्न नागरिक कार्यक्रमलाई निरन्तरता दिदै ६ लाख बजेट विनियोजन गरिएको छ ।६ चेली सम्मानितमकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तरगत ६ जना चेलीलाई नगद सहित सम्मान गरेको छ ।
प्लटु पास गरी २० वर्ष पारगरी विवाह गर्ने कैलाश गाउँपालिका निवासी ६ जना चेलीलाई सम्मान गरिएको थियो । गाउँपालिकाले नीति तथा कार्यक्रममा समेट्दै चेली प्रोत्साहन कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो । सम्मानित हुनेमा कैलाश–९ कि सन्चिता गोले, देवकी बर्तौला, कैलाश–१० की सर्मिला सुनार, लक्ष्मी ब्लोन, कैलाश–५ की शशिकला सिन्तान, सर्मिला बिष्ट रहेका छन् ।गाउँपालिका अध्यक्ष मोक्तानले पालिकामा हुने बालविबाहलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी यो कार्यक्रम ल्याइएको बताए । छोराछोरी दुबै पढ्नुपर्छ र २० वर्षपछि मात्रै विवाह गर्नुपर्छ भन्ने सन्देशका साथ यो कार्यक्रमलाई लागु गर्दै ६ जना चेली सम्मान गरी कार्यक्रमलाई निरन्तर दिइएको उनले बताए । यो कार्यक्रमले बालविवाहलाई निरुत्साहित गर्नुका साथै छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने जनचेतना फैलने अध्यक्ष मोक्तानले बताए ।कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, दीपेन्द्र अधिकारी, महिला विकास शाखाप्रमुख रमिला सापकोटालगायत गाउँसभाका सदस्यहरुको आतिथ्यता रहेको थियो ।







