सहकारीलाई मिल्क एनालाइजर मेशिन प्रदान
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ सिमलटारस्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्थालाई मिल्क एनालाइजर मेशिन प्रदान गरिएको छ ।बुधबार एक कार्यक्रम बीच वडा नं. ५ का वडाध्यक्ष दीपेश दाहालले संस्थाका अध्यक्ष हीरामणि दाहाललाई मेशिन हस्तान्तरण गरेको हो । मेशिन प्रदान गर्दै वडाध्यक्ष दाहालले मेशिन प्राप्त भएपछि कृषकले उत्पादन गरेको दुधको फ्याटको मात्रा निर्धारण गर्न सहज बन्ने बताए । वडाले किसानलक्षित विभिन्न कार्यक्रम गर्दै आउनुका साथै आव २०८१÷८२ मा पनि किसानलक्षित थुप्रै कार्यक्रम रहेको बताए ।
उत्पादनमा आधारित सहकारी संस्थालाई थप सहजता मिल्नको लागि कृषिजन्य सामग्री प्रदान गाउँपालिकाले गर्नेछ, वडाध्यक्ष दाहालले भने । अनुदानमा घाँस काट्ने मेशिन, काउम्याट, गोठसुधार कार्यक्रमलगायत अन्य कार्यक्रम वडाले गर्ने बताए । संस्थाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको मेशिन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष दाहालको प्रमुख आतिथ्यता थियो ।एक लाख ९ हजार ८ सय ५० रुपैयाँ लागत मूल्य रहेको मेशिनलाई गाउँपालिकाले खरिदका लागि एक लाख रकम उपलब्ध गराएको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । मिल्क एनालाइजरले दुधको फ्याट र एसएनएफ मात्रा निर्धारण गर्नुका साथै दुधमा पानीको मात्रा पहिचान गर्ने व्यवस्थापक घिमिरेले बताए । सहकारी संस्थाले दुध संकलन र विक्री गर्ने गर्दछ । सहकारीमा ७० भन्दा बढी सदस्यले दुध विक्री गर्दै आइरहेका छन् ।







