मकवानपुरमा ३३० किलो गाँजासहित ३ जना पक्राउ
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरक–फरक ठाँउबाट ३ सय ३० किलो लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरीपुल नजिकैबाट १७५ किलो गाँजासहित १ जना र हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेबाट १५५ किलो गाँजा सहित २ जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भीमफेदीबाट १७५ किलो गाँजासहित हेटौंडा उपमहानगरपालिका–४ बस्ने वर्ष ५१ को पूर्णबहादुर रुम्बालाई नियन्त्रणमा लिइएको हो । हेटौंडा–१५ बाट १५५ किलो गाँजासहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने वर्ष ३६ को सुनिल मुक्तान र राप्ती–१ लोथर बस्ने वर्ष २० को अनिल भन्ने धनबहादुर स्याङतानलाई नियन्त्रणमा लिइएको हो ।
भीमफेदी–१ मा बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चेक गर्दा ट्रकको पछाडिपट्टी मुनी फल्स बटम बनाई लुकाइछिपाई राखेको अबस्थामा गाँजा १७५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीटोलीले ट्रक र ट्रकचालक रुम्बालाई गाँजासहित नियन्त्रणमा लिएको हो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी चितवनबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई हेटौंडा–१५ रातोमाटेमा चेक गर्दा हुटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा १६ पोकामा १५५ किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रकसहित ट्रकचालक मुक्तान र ट्रकमा सवार स्याङ्तानलाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।







