मनहरीबाट बालयौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
हेटौंडा-मकवानपुरको एक सामुदायिक विद्यालयमा अध्ययनरत् बालिकामाथि यौनदुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका शिक्षक ४४ वर्षीय दिनेश उप्रेतीलाई बालयौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरीनिरीक्षक प्रकाश साहले जानकारी दिए ।पीडित बालिकाले सोमबार जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराएपछि शिक्षक उप्रेतीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरिएको साहले बताए । शिक्षक उप्रेतीले पीडित बालिकामाथि यौनजन्य मनसायले संवेदनशील अंगमा छुने आरोप सहितको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
घटना दुई दिन अगाडि विद्यालय भित्रै भएको साहले जानकारी दिए । ‘उजुरीमा स्कुलभित्रै दुईदिन अगाडि घटना भएको भनिएको छ,’ साहले भने । आरोपित शिक्षकलाई बालयौन दुव्र्यवहार मुद्दा चलाउने साहले बताए । उप्रेती करारमा नियुक्त भएका शिक्षक हुन् । साँझ विद्यालयका प्रधानाध्यापक गोविन्द चौलागाईं लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका थिए ।बालबालिकासम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ मा बालबालिकाविरुद्ध हुने कसुरसम्बन्धी व्यवस्था छ । यो दफाको उपदफा (३) को (ङ)मा यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा छुने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो, अरु कसैको शरीरको संवेदनशील अंग छुन, समाउन लगाउने, यौनजन्य मनसायले बेहोस पार्ने, यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने गरेमा ७५ हजार जरिवाना र तीन वर्षसम्म कैदको सजाय हुने व्यवस्था छ ।







