डेरीमा दूध संकलन प्रभावित
हेटौंडा-तराईमा दूध उत्पादन घट्दा हेटौंडा दुग्ध वितरण आयोजनाको दूध संकलन प्रभावित भएको छ । आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध संकलन गर्दै आएको थियो ।विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको आयोजनाले हाल दैनिक छ हजार लिटर दूध संकलन गर्ने गरेको छ । संकलित दूध वीरगञ्ज, हेटौंडा र भरतपुरका उपभोक्ताले दैनिक चार हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ ।
मधेश प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ । आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुरका कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक एक करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले जानकारी दिए ।आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ । लालमन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाइहरु आयोजनाले हेटौंडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ ।
हेटौंडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दुग्ध विकास बोर्ड हेटौंडालाई धुलो दूध उत्पादन गर्न दुईदेखि तीन दिनको अन्तरमा दुई हजार लिटर दूध पठाउने गरेको छ । बोर्डलाई दूध नपठाइएको दिनमा दुई हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागि खपत गर्दै आएको आयोजनाप्रमुख खनालले जानकारी दिए । तराईमा वर्षात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ ।







