लायन्सको डिस्ट्रिक्ट गभर्नरमा तुम्बाहाम्फे
हेटौंडा- सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एसको डिस्ट्रिक्ट गभर्नर पदमा मकवानपुरकी तासीडोल्मा तुम्बाहाम्फे चयन भएकी छन् ।नेपालमा रहेका लायन्स क्लबका १५ डिस्ट्रिक्ट गभर्नरमध्ये वर्ष २०२४÷२५ का लागि गभर्नरमा तुम्बाहाम्फे चयन भएकी हुन् । तुम्बाहम्फे १५ वटा डिस्ट्रिक्ट काउन्सिलको सचिव थिइन् । जुन २१ देखि २५ सम्म अष्ट्रेलियाको मेलवर्न सहरमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले डिस्ट्रिक्टको सपथ खाएकी थिइन् । लायन्स क्लब नेपालको ईतिहासमा पहिलो महिला गभर्नर भएकी छन् उनी ।
गभर्नर भएपछि उनले नेपाल लायन्स आई फाउण्डेसन स्थापना गरी आँखाका बिरामीलाई सेवा दिनमा आफ्नो प्रमुख कार्य रहेको बताइन् । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसमा एक सय १६ वटा क्लब रहेका छन् भने करिब एक हजार ८ सय सदस्य छन् । लायन अन्तर्राष्ट्रियको नियमावली अनुसार निर्वाचित गर्भनरको कार्यकाल एक वर्षको हुनेछ । सन् १९१७ मा अमेरिकामा लायन्स क्लबको स्थापना भएको थियो । नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ विराटनगर पहिलो लायन्स क्लब हो । हाल नेपालमा १५ वटा डिस्ट्रिक रहेका छ भने ती डिष्ट्रिकहरुमा करिब ४० हजार सदस्यहरु रहेका छन् ।
संसारभर १३ लाख ५० हजार भन्दा धेरै लायन्सका सदस्य छन् । लायन्सको २०२४÷२५ को प्रारम्भ जुलाई एकदेखि लागू भएको छ । आफ्नो कार्यकालमा सामाजिक क्षेत्रका उल्लेख्य काम गरी अन्तर्राष्ट्रियस्तरमा नाम राख्ने गभर्नर तुम्बाहाम्फेले बताइन् ।







