तुल्सीमेहरका उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१०, स्थित तुल्सीमेहर मेमोरियल माध्यमिक विद्यालयले एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।विद्यालयले एक कार्यक्रम बीच एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अभिभावक र ८ जना शिक्षकलाई सम्मान गरेको हो । २०८० को एसईई परीक्षामा विद्यालयबाट ४९ विद्यार्थी सहभागी भएकामध्ये ४३ जना उत्तीर्ण भएका थिए । ९ जना विद्यार्थीले ए प्लस, १३ जनाले ए, १२ जनाले बी प्लस र ९ जनाले बी प्राप्त गर्न सफल भएका हुन् । ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर–१० का वडाध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षक सुरेन्द्र गौतम, गणित विषयशिक्षक देवेन्द्र चापागाईं, अंग्रेजी विषयशिक्षक कमल नेपाल, प्रतिमा बुढाथोकी, आयुष देवकोटा, पवन त्रिपाठी र सन्दीप न्यौपानेलाई नगदसहित सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सीपल रघुनाथ खरालले आगामी दिनमा अझ अधिक मेहनत गरेर उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिने बताए ।







