बागमतीमा बढ्दो आर्थिक अपराधका घटना

साझाकुरा
२०८१ असार २२, शुक्रबार ११:५७

हेटौंडा- बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ ।संगठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकले देखाएको छ । प्रदेशको तीन वर्षको तथ्यांकले बैकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा वृद्धि भएको देखाएको हो । संगठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८÷७९ मा ५६३ भएकोमा आव २०७९÷८० मा वृद्धि भइ ९०४ पुगेको थियो भने चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि जेठ मसान्तसम्म एकहजार १८८ पुगेको छ । पछिल्लो तीन आवको तथ्यांक हेर्दा चालु आवको जेठसम्म आपराधिक घट्ना बढेको तथ्यांकले देखाउँछ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको जेठसम्म ज्यान सम्बन्धि ८७९, आत्महत्या सम्बन्धि ८८२, चोरी सम्बन्धि २४४, सामाजिक अपराध सम्बन्धि ७८०, सवारी सम्बन्धि २८६ र अन्य ४२८ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।प्रहरीको तथ्यांक अनुसार मुद्दादर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव ०७८÷७९ को अनुपातमा ०७९÷८० मा ६.२२ प्रतिशतले मुद्दादर्ता वृद्धि भएको तथ्यांक छ । आव २०७८÷७९ मा चारहजार ४०५ मुद्दादर्ता भएकोमा आव ०७९÷८० मा बढेर चारहजार ६७९ पुगेको थियो भने चालु आवको जेठ मसान्तसम्म चारहजार ६८७ मुद्दा दर्ता भएको छ ।

त्यस्तै चालु आवको जेठ मसान्तसम्म ३४१ लागूऔषध, ४४ कर्तव्य ज्यान, २५९ जबरजस्ती करणी, ८ मानव बेचबिखन तथा ओसारपसार, ५ अपहरण तथा शरीर बन्धक, मादकपदार्थ बेचबिखन तथा ओसारपसार ८, डाँका १ र अन्य २५ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।त्यस्तै महिला तथा बालबालिकाविरुद्धको अपराध पनि बढ्दै गएको छ । चालु आवको जेठ मसान्तसम्म २५९ वटा जबरजस्ती करणी, ३८ बहुविवाह, ४९ जबरजस्ती करणी उद्योग, ८ वटा मानवबेचबिखन तथा ओसारपसार र २ वटा बालविवाहसँग सम्बन्धित अपराधका घटना भएको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*