थाहानगरमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

साझाकुरा
२०८१ असार २२, शुक्रबार १२:०३

हेटौंडा-थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको छ । १९ असारमा एक कार्यक्रमका बीच थाहा नगरपालिकालाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरेकी हुन् ।थाहा नगरप्रमुख विष्णु बहादुर विष्टको प्रस्तावमा मन्त्री मोक्तानले पालुङ जेसीज सभाहलमा भएको घोषणासभाका बीच अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिन् । थाहानगर शिक्षा समितिले १६ असारमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले जारी गरेको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को व्यवस्था अनुसार थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । मकवानपुरका १० पालिकामध्ये थाहानगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको दोस्रो पालिका हो । यसअघि मकवानपुरगढी गाउँपालिका घोषणा भइसकेको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसँगै पालिकाका माध्यमिक तहसम्म अध्यापन गराउने विद्यालयले अब शुल्क लिन नपाउने भएका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भइरहँदा थाहा नगरपालिकामा ४ देखि १३ वर्ष उमेर समूहका ७८ जना बालबालिका शिक्षाबाट वञ्चित भैरहेको तथ्यांकले देखाएको छ । थाहा नगरपालिका शिक्षा शाखाको तथ्यांक अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम लागू हुनुअघि १ सय ७५ विद्यालय बाहिर रहेकोमा ९७ बालबालिका विद्यालय भर्ना भएको शाखाको अभिलेख छ । शाखाले यो तथ्यांक समुदायस्तरमै तथ्यांक संकलक खटाएर विवरण संकलन गरेको थियो ।तथ्यांक अनुसार वडा नम्बर १ मा ७ जना विद्यालय बाहिर रहेकोमा ४ जना विद्यालय भर्ना भएका छन् । वडा नम्बर २ मा ११ जना विद्यालय बाहिर भेटिएकामेमा ६ जना भर्ना भएका छन् । वडा नम्बर ५ जना भेटिएकोमा ३ जना भर्ना भएका छन् । त्यसैगरी वडा नम्बर ४ मा १९ जनामा ११ जना विद्यालय भर्ना भए । वडा नम्बर ५ मा ३२ जना विद्यालय बाहिर रहेकोमा २० जना विद्यालय भर्ना भएका छन् ।

वडा नम्बर ६ मा १२ जना विद्यालय बाहिर रहेकोमा १० जना विद्यालय भर्ना भएका छन् । वडा नम्बर ७ को १६ मा ११ जना, ८ नम्बर वडाको १५ मा ५ जना विद्यालय भर्ना भए । ९ नम्बर वडाको ९ मा ५ जना विद्यालय भर्ना भएका छन् भने १० नंम्बर वडाको कुनैपनि बालबालिका विद्यालय बाहिर नभएको तथ्यांक छ । ११ नम्बर वडाको १९ मा ६ जना विद्यालय भर्ना भएका छन् । १२ नम्बर वडाको १९ मा ६ जना मात्र विद्यालय भर्ना भएको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।घोषणासभालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले कार्यक्रममा बालबालिकाको पढ्न पाउने अधिकारलाई स्थापित गर्न यस कार्यक्रमले मद्दत पुग्ने बताइन् । विद्यालय भर्ना नभएका बालबालिकालाई विद्यालय पु¥याउन सके शैक्षिक जनशक्ति बढ्ने उनले विश्वास व्यक्त गरिन् । घोषणासभामा थाहा नगरका उपप्रमुख भरत गोपाली, नेपाल शिक्षक महासंघका नगरअध्यक्ष राजाराम कार्की, नेकपा माओवादी केन्द्रका नगरअध्यक्ष बिनोद लामा, नेकपा एमालेका थाहानगर सचिव सुजन रायमाझीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

सभामा नगर शिक्षा शाखाप्रमुख माधवविक्रम मल्लले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी थाहाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा थाहा नगरपालिका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, शिक्षक संघ संगठनका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो । सो अवसरमा आर्थिक अवस्था कमजोर भएका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*