‘हरियाली प्रवद्र्धनमा हेटौंडा अगाडि छ’

साझाकुरा
२०८१ असार २३, शनिबार १२:०८

हेटौंडा- खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले हेटौंडा हरियाली प्रवद्र्धनमा सधै अगाडि रहेको बताए । शुक्रबार हेटौंडा–८ स्थित विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण क्षेत्रमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मन्त्री श्रेष्ठले ग्रीन सिटीको रुपमा हेटौंडा सधैं अगाडि रहेको बताए ।सार्वजनिक जग्गा संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रोपिएका विरुवाको हेरचाह र संरक्षणमा ध्यान दिन समेत आग्रह गरे । मन्त्री श्रेष्ठले कर्राखोलालाई व्यवस्थित बनाउन हेटौंडा–९ त्रिवेणीधामदेखि हेटौंडा–१८ सम्म कर्राकरिडोर निर्माणका लागि वजेट विनियोजन गरिएको बताए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले वृक्षरोपणको औचित्य र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावको वारेमा चर्चा गरे ।

विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण समितिका अध्यक्ष रमेश पौडेलले मालपोतमा दर्ता कायम रहेको २ कठ्ठा ४ धुरसहित करीव १० कठ्ठा क्षेत्रफल ऐलानी रहेको जग्गालाई संरक्षण गर्दै स्थानीयको सक्रियतामा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताए । यो क्षेत्रको भोगाधिकार समितिलाई उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारी चिलुवाल र मन्त्री श्रेष्ठलाई आग्रह गरे । मन्दिर तथा पार्क क्षेत्रमा रुद्राक्ष, सतिसाल, एभोकाडो, अम्बा, आँप, अमला, कलकी र सौन्दर्यकरण जातका करीब ८५ वटा बिरुवा रोपिएको छ ।

वृक्षरोपणका लागि विरुवा डिभिजन वन कार्यालय हेटौंडा र वनस्पति अनुसन्धान केन्द्रबाट उपलब्ध गराइएको डिभिजन वन कार्यालय हेटौंडाका रेन्जर वसन्तराज गौतमले जानकारीदिए । कार्यक्रममा कर्मचारी मिलनकेन्द्रमा आवद्ध कर्मचारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*