जंगली च्याउले बढाउँदैछ मानवीय क्षति
हेटौंडा-मकवानपुरमा जंगली च्याउ खाएर बिरामी हुने र मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । असार महिनामा मात्र मकवानपुरका जंगली च्याउ खाएर बिरामी भएका ६ वटा घटना प्रकाशमा आएका छन् ।बिहीबार जंगली च्याउ खाँदा मकवानपुरको भीमफेदीमा ७ जना बिरामी भएकामा एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानका अनुसार नागरिक आफैँ सचेत नहुँदा यस्ता घटना हुने गरेको हो ।गाउँपालिकाले जंगली च्याउ नखान विभिन्न माध्यमबाट सूचित गराए पनि नागरिकले त्यसलाई गम्भीरताका साथ नलिएको उनको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जंगली च्याउ खाएर बिरामी हुने घटना ग्रामीण भेगमा बढी हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार घटना न्यूनीकरणका लागि जनस्वास्थ्य कार्यालयबाट जनचेतनामूलक सूचना प्रचारप्रसार गर्नुको साथै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासमेत परिचालन गरिएको छ । मकवानपुरमा असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जंगली च्याउ खाएर ३ जनाको मृत्यु भएको छ ।असार लागेयता जंगली च्याउ खाएर मकवानपुरका २८ जना बिरामी भएका छन् । बिहीबार बिरामी भएका ७ सहित विभिन्न समयमा च्याउ खाएर २८ जना बिरामी भएको प्रहरीले जनाएको छ ।







