संकटमोचन गर्न कांग्रेससँग सहमतिः बर्तौला

साझाकुरा
२०८१ असार २६, मंगलवार ०९:४३

हेटौंडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुखसचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबीच भएको सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् ।सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुखसचेतक बर्तौलाले दुई दलबीचको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि समझदारी पारदर्शी भएको बताए । उनले दुई दलमा भएको समझदारी देशको संकटमोचन गर्नका लागि भएको पनि बताए । ‘सिंगो देशको संकटमोचन गर्न कांग्रेस र एमालेबीच सहकार्य गर्ने समझदारी भएको हो’, उनले भने ।

‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।,’ उनले प्रधानमन्त्रीले प्रेम एउटासँग गर्ने र लिभिङ टुगेदर अर्कोसँग गर्ने प्रवृत्ति देखाएकाले कांग्रेस–एमाले समझदारी भएको दाबी गरे । ‘वर्तमान सरकारलाई एमालेले दिएको समर्थन असार १९ गते फिर्ता लियौँ । समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो’, बर्तौलाले अन्जु पन्तको गीत सुनाउँदै भने ‘राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले एउटा गीत गाउनुभयो, फत्तेमानको । तर, म प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत सुनाउन चाहन्छु ।,’

उनले ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?,’ बोलको गीत गाउँदै प्रधानमन्त्रीले सँगै बसौँ र सरकारलाई विकास सम्मृद्धिको पथमा अघि बढाउन एमालेले चाहेपनि प्रधानमन्त्रीले अर्को दाउपेचको खेलेको आरोप लगाए । ‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको शैलीको मारमा एमाले प¥यो । त्यही भएर हामी बाहिरियौँ,’ उनले भने ।उनले नयाँ समझदारीपछि केही समीक्षा भएको भन्दै प्रधानमन्त्रीले कहिले कांग्रेस र कहिले एमालेलाई गैँडाले चाटेजस्तो गरेको टिप्पणी गरे ।

त्यसक्रममा बर्तौलाले फाइल खोल्ने भनेर केही मन्त्री र नेताहरुले धम्की दिएको भन्दै फाइल खोलेर देखाउन चुनौती दिए । उनले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन हुने भन्दै यदि प्रधानमन्त्रीले असार २८ मा बहुमत पु¥याए आफूहरुलाई कुनै आपत्ति नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*