निरन्तर वर्षाले सबैभन्दा सफा हेटौंडा, काठमाडौंको वायु ‘स्वस्थकर’

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १२:४८

हेटौंडा-निरन्तरको वर्षाले बागमती प्रदेशको मुकाम हेटौंडा सहर सबैभन्दा सफा बनेको छ । काठमाडौं उपत्यकाको वायु ‘स्वस्थकर’ बनेको छ ।वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार सबैभन्दा कम एक्यूआई मकवनपुरको हेटौंडामा चार रेकर्ड भएको छ । सबैभन्दा कम एक्यूआर्य रेकर्ड भएकाले देशका विभिन्न सहरमध्ये हेटौंडा सफा रहेको सरकारी मापनले देखाएको हो । यसैगरी, काठमाडौं उपत्यकाको विभिन्न स्थानमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४४ भन्दा कम छ ।

एक्यूआई सबैभन्दा कम रत्नपार्कमा १२ छ । यस्तै, ललितपुरको खुमलटारमा २५, शंखपार्कमा ३२ र भक्तपुरमा ४४ छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दा माथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ ।
पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ ।काठमाडौंमा फागुनदेखि वैशाख अन्तिमसम्म अधिकतम एक्यूआई ३०० सम्म पुगेको विभागको रेकर्ड छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*