४२ औं वीपी स्मृति दिवसमा सरसफाई तथा वृक्षरोपण
हेटौंडा-४२ औं वीपी स्मृति दिवसको अवसर पारेर वीपी विचार समाज मकवानपुरले शनिवार विविधि कार्यक्रमको आयोजना गर्दै वीपीको योगदानको चर्चा गरेको छ ।स्मृति दिवसको अवसरमा शनिवार समाजले हेटौंडा–११ सरस्वतीमा रहेको वीपी वाटिकामा सरसफाई तथा वृक्षरोपण गरेको हो । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति एवम् बागमती प्रदेशका संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्यालको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अर्यालले नेपालको राजनीतिमा वीपीको योगदानको
बारेमा चर्चा गरेका थिए ।
विक्रम संवत १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे ।कार्यक्रमा कांग्रेस महासमिति सदस्य राधा कोइराला, बागमती प्रदेश सदस्य प्रदीप कोइराला, नगरउपसभापति डोल्मा स्याङ्बो, शिक्षक संघका बागमती प्रदेश अर्थसचिव शान्ता गजुरेल, हेटौंडा–११ का पार्टी सभापति दीपक उप्रेती लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।







