बीपीको स्मृतिमा आश्रमका आश्रितलाई भोजन
हेटौंडा-नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृतिमा कांग्रेस मकवानपुरले हेटौंडास्थित मानवसेवा आश्रममा आश्रितलाई भोजन गराएको छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका स्वर्गीय कोइरालाको सम्झनामा आश्रममा आश्रित २२० जनालाई चियापान तथा दिवाभोजन गराइएको हो । सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा र बागमती प्रदेशसभापति इन्द्रबहादुर बानियाँले बीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
उनीहरुले मानवसेवा आश्रमका लागि नेपाली कांग्रेस सत्तामा पुग्दा वा बाहिर रहँदा जुनसुकै समयमा पनि आवश्यक सहयोग गर्दै आएको स्मरण गर्दै त्यसलाई निरन्तरता दिइने बताए ।जिल्ला सभापति बुद्ध लामाले सडक मानवलाई यो अवस्थासम्म ल्याउन मानवसेवा आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । उनले महानविचारक बीपीको योगदानको चर्चा गरे । ‘उहाँले नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादको विचारलाई बीजारोपण गर्नुभयो । उहाँको राजनीतिक विचारले खासगरी लोकतान्त्रिक सिद्धान्त, सामाजिक न्याय र नेपालको राष्ट्रिय पहिचानमा गहिरो जरा गाडेको छ । नेपालको आधुनिकीकरण र प्रजातान्त्रिकरणका लागि उहाँको स्पष्ट विचार र दृष्टिकोणको सबैले सम्मान गर्नुपर्छ,’ लामाले भने ।







