बागमती सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
हेटौंडा-बागमती प्रदेश सरकारले काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र भएको सौर्य एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।प्रदेशको नवगठित मन्त्रिपरिषद्को आज बुधबार बसेको पहिलो बैठकले दुर्घटनामा परेर मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।
बैठकले दुर्घटनामा परेर मृत्यु भएका पीडित परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको मन्त्री श्रेष्ठले बताए । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
१९ जना सवार जहाजमा एकजना भने घाइते छन् । घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, बैठकले केही हप्ताअघि चितवनको सिमलतालमा पहिरोमा परेर त्रिशुली नदीमा पुरिएर मृत्यु भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको मन्त्री श्रेष्ठले बताए ।
पहिरोमा पुरिएर दुईवटा बस र बसमा सवार यात्रुहरु बेपत्ता भएका थिए । उनका अनुसार, ती घटनामा उद्दार कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र भारतबाट आएका उद्दारटोलीलाई पनि धन्यवाद व्यक्त गरेको छ । बैठक मुख्यमन्त्री बहादुरसिं लामाको अध्यक्षतामा बसेको हो ।







