साझाकुरा निरन्तर ‘क’ वर्गमा

साझाकुरा
२०८१ श्रावण १९, शनिबार १२:१७

हेटौंडा- मकवानपुर जिल्लाबाट पहिलो पटक ठूलो आकारमा प्रकाशन थालनी गरेको साझाकुरा दैनिक प्रेस काउन्सिल नेपालको संपरीक्षणमा पुनः ‘क’ वर्गमा पर्न सफल भएको छ ।२०६८ सालबाट प्रकाशन आरम्भ गरेको साझाकुरा दैनिक निरन्तर ९ औं पटक ‘क’ वर्गमा बर्गीकरण भएको हो । आ.व. २०७०÷०७१ देखि प्रेस काउन्सिल नेपालको संपरीक्षणमा पर्दै आएको साझाकुरा हालसम्म आफ्नो गुणस्तर कायम राख्दै पुनः ‘क’ वर्गमा परेको हो ।

बागमती प्रदेशको राजधानीबाट प्रकाशन हुँदै आएको दैनिक ठूलो आकार, निरन्तर प्रकाशन, भाषा, साजसज्जा, समाचार, विचार, फोटो आदि प्रकाशनमा उत्कृष्ट ठहरिँदै प्रेस काउन्सिल नेपालको वार्षिक
संपरीक्षणमा ‘क’ वर्गमा परेको हो । काउन्सिलले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक संपरीक्षणको प्रारम्भिक नतीजा शुक्रबार सार्वजनिक गरेको हो । प्रेस काउन्सिलले पत्रपत्रिका वितरण, प्रकाशित समाचार, विचार, फोटो, कार्टुन, साहित्य आदिलाई आधार बनाएर वार्षिकरुपमा मूल्यांकन गर्ने गरेको छ ।

‘क’ वर्गमै समावेश भएको नतीजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै पत्रिकाका प्रकाशक सविन न्यौपानेले आर्थिक मन्दीका बाबजुद गरिएको मेहनतको उचित कदर भएकोमा खुशी व्यक्त गरे । उनले कर्मचारीको कडा परिश्रम, पाठकको विश्वास र विज्ञापनदाताको निरन्तर सहयोगले साझाकुरा दैनिक अगाडि बढेको स्पष्ट पारे ।

दैनिकले शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरन्जन, यौन स्वास्थ्य, साहित्य तथा तीनै तहको सरकारले गरेको कामको नजिकबाट नियालेर सत्य तथ्य सामग्रीलाई प्राथमिकता दिँदै आएको छ । प्रेस काउन्सिलले सार्वजनिक गरेको वर्गीकरणको प्रारम्भिक नतिजाअनुसार हेटौँडाबाट प्रकाशन हुँदै आएको हेटौँडा सन्देश दैनिक र समृद्ध समाज दैनिक ‘क’ वर्गमा तथा प्रदेश दैनिक ख वर्गमा परेको छ । यस्तै ६ वटा साप्ताहिक पत्रिका ‘ख’ वर्गमा परेको छ भने ६ वटा ‘ग’ वर्गमा परेको छ ।

हाम्रो मातृभूमि र अक्षय अक्षर त्रैमासिक साहित्यिक पत्रिका ‘क’ वर्गमा परेको छ भने लोकभावना त्रैमासिक ‘ख’ वर्गमा परेको छ । एउटा पाक्षिक पत्रिका ‘ग’ वर्गमा परेको छ । काउन्सिलमा वार्षिक वितरण संपरीक्षणका लागि दर्ता भएका ९ सय वटा पत्रपत्रिकामध्ये सात सय ९३ वटा पत्रपत्रिका वर्गीकरणमा परेको जनाएको छ । ७० वटा पत्रपत्रिकाको कागजात नपुगेको, ३७ वटा हुबहुमा परेको काउन्सिलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*