बागमतीका २५० महिलालाई ड्राइभिङ सिकाउने निर्णय

साझाकुरा
२०८१ श्रावण २०, आईतवार १२:३४

हेटौंडा- बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले महिलालाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पदभारग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।प्रदेशमा सीपमूलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनको भनाई छ । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उद्देश्यकासाथ तालिको आयोजना गर्न लागिएको हो ।

यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवम् सुरक्षित बनाउन महिलाचालक उत्पादन तथा महिलालक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलालाई तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन प्रशिक्षण सीप प्रदान गर्ने मन्त्री महर्जनको भनाई छ । त्यस्तै, मन्त्री महर्जनले सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीनपटकसम्म फेल भएकाले ९० दिनसम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् ।

यो समय घटाएर १ महिनामा ल्याउने निर्णय गरिएको मन्त्री महर्जनले बताए । यो निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंलाई पत्र पठाइएको उनको भनाई छ । साउन ९ गते नेवारी भाषामा शपथ खाएका यातायात मन्त्री महर्जनले पदभार सम्हाले लगतै मन्त्रालय मातहतका कार्यालय तथा सेवाग्रहीको समस्याको विषयमा चासो देखाएका छन् । सोही अनुसार गत सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया गरेका थिए ।

यसक्रममा उपस्थित कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालय तथा सेवाग्राहीको विषयमा जानकारी गराएका थिए । जसमा सेवाग्रहीले सेवा लिनका लागि लामो समय खर्चनु पर्ने, हाल प्रयोग भैरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायत समस्या समस्या समाधानका लागि मन्त्री मर्हजनले अबको केही दिनमा संघीय मन्त्री, बागमती प्रदेशका मन्त्री, सचिव, सम्बन्धित कार्यालयका प्रमुखहरुलगायत सम्बन्धित व्यक्तिको बैठक बसेर हाल यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*