मनहरीमा सामाजिक सुरक्षाभत्ता नवीकरण शिविर
हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रमा पर्ने मनहरी गाउँपालिका १ नम्वर वडा कार्यालयले सामाजिक सुरक्षाभत्ता नवीकरण शिविर संचालन गरिरहेको छ ।वडाले सेवाग्राही र असक्त नागरिकको सहजताको लागि वडाभित्र सुरक्षाभत्ता नवीकरण शिविर संचालन गरेको वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए । वडाध्यक्ष खनालका अनुसार, साउन १५ गतेदेखि संचालन गरिएको ६ दिने शिविर भोलि साउन २१ गते सोमबार सकिनेछ । उनले शिविर बिहानको समयमा मात्रै हुने गरेको बताए ।
वडाका अन्य सेवाग्राहीलाई असर नपर्ने गरी बिहान ७ बजेदेखि १० बजेसम्म शिविर संचालन भइरहेको र १० बजेपछि कार्यालयबाट अन्य सेवा दिइरहेको वडाध्यक्ष खनालले बताए ।हालसम्म वडाको स्कुल गोगनपानी, झुल्यान गोगनपानी, चकरी, मकरी कृष्ण मन्दिर, मकरी राधाकृष्ण मन्दिरमा शिविरको आयोजना गरिएको १ नम्वर वडासचिव पुजन न्यौपानेले बताए । भोलि सोमबार भने मकरी पर्तामा शिविरको आयोजना गरिने वडासचिव न्यौपानेले बताए । उनका अनुसार, वडाका ४१४ जनालाई सेवा दिने लक्ष्य रहेको शिविरबाट हालसम्म २६८ जनाले सेवा लिएका छन् ।
वडासचिव न्यौपानेले शिविरबाट सेवा लिन छुटेका नागरिकले वडा कार्यालयबाटै सेवा लिन सकिने बताए । पछिल्लो समयमा यो वडाले असक्त, अपा·ता नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षाभत्ता शिविर, सामाजिक भत्ता नवीकरण शिविर, स्वास्थ्यशिविर, आँखा परीक्षण शिविर र राष्ट्रिय परिचयपत्र बनाउने शिविर संचालन गर्दै आएको छ । वडाले शिक्षा अहिलेको आश्यकता भन्ने नाराका साथ शिक्षामा पनि पहुँच बढाएको छ ।







