हेटौंडा सिटी कलेजका कानुन संकायका विद्यार्थी उत्कृष्ट
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित हेटौंडा सिटी कलेजका कानून संकायका विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेका छन् ।कलेजकी विद्यार्थी मधुमिता यादवले ३.६६ जिपिए प्राप्त गरी जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छिन् । कलेजले शतप्रतिशत उत्तीर्णदर हासिल गरेको खुशीयालीमा सोमबार हेटौंडाबजार परिक्रमा गरेको छ । प्रभातफेरीले सहरका प्रमुख चोकहरु परिक्रमा गरेको हो । कलेजका प्रशासनप्रमुख सुमन्त सिलवालका अनुसार, विसं २०७९ देखि कक्षा ११ र १२ मा अंग्रेजी माध्यमबाट कानून संकाय सञ्चालन गरिएको हो ।
‘पहिलो वर्षमै १० जना विद्यार्थीलाई अध्यापन गराउँदा जिल्लामा उत्कृष्ट र शतप्रतिशत नतिजा हासिल गर्न सफल भयौं,’ उनले भने । एक विद्यार्थीले ए प्लस र दुईजनाले ए ग्रेड प्राप्त गरेका छन् । कानुन संकायका प्रमुख हेमन्त ढुंगेलले मकवानपुरमा अंग्रेजी माध्यमबाट कानुन अध्यापन गराउने एकमात्र कलेज भएको बताए । उनले आगामी दिनमा पनि शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको जानकारी दिए ।यो सफलताले हेटौंडा सिटी कलेजको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ, जसले स्थानीय स्तरमा गुणस्तरीय कानुनी शिक्षाको उपलब्धतालाई सुनिश्चित गरेको ढुंगेल बताउँछन् ।







