उद्योग वाणिज्य संघले मनायो स्थापना दिवस
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले ५८ औं स्थापना दिवस सोमबार मनाएको छ । २०२३ साउन १८ गते संघ स्थापना भएको थियो ।संघले हेटौंडा–२ स्थित आफ्नो कार्यालयमा दीपप्रज्वलन गरी स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले थप दुईवटा कार्यक्रम सम्पन्न गरेको छ ।हेटौंडा–२ स्थित ओम बृद्धाश्रमलाई नयाँ कम्प्युटर सेट सहयोग गरेको छ भने हेटौंडा–११ स्थित सीएमसी चुरेहिल हस्पिटलसँग संघका सदस्यहरुका लागि औषधिमा ७ प्रतिशत र उपचारमा २० प्रतिशत छुट सुविधाको विषयमा सम्झौता गरेको छ ।
ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले आश्रममा खाद्यसामग्री सहयोग आउने गरेको भएपनि कार्यालय व्यवस्थापनको लागि कम्प्युटर आवश्यक भइरहेको सन्दर्भमा आश्रमको आवश्यतालाई मध्यनजर गरी प्रदान गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनल आश्रममा कुल ४२ जनाको लागि आश्रयक्षमता रहेकोमा हाल १६ पुरुष र ९ महिला गरी २५ जना ज्येष्ठनागरिक आश्रित रहेको जानकारी दिए ।
सीएमसी चुरेहिल हस्पिटलका अध्यक्ष प्रभात देवकोटाले हाल सीएमसी चुरेहिल हस्पिटलले प्रविधियुक्त उपकरणहरु थप्दै गएको, चितवन मेडिकल कलेज (सीएमसी) हस्पिटलको भगिनी संस्थाको रुपमा यस संस्था रहेको बताए । उनले चितवनबाट विशेषज्ञ डाक्टर हेटौंडा आएर उपचारसेवा दिइरहेको, दक्ष डाक्टरबाट हेटौंडामा नियमित उपचार भइरहेको दावी गरे । सम्झौतासँगै संघका सदस्यले पाउने छुटसुविधा चितवन सीएमसी हस्पिटलमा पनि पाउने उनले जानकारी दिए ।







