निर्माण व्यवसायीका समस्या समाधान गर्ने मुख्यमन्त्री लामाको वचन

साझाकुरा
२०८१ श्रावण २२, मंगलवार ०९:१४

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।बागमती प्रदेश निर्माण व्यवसायी महासंघले सोमबार राजधानीमा गरेको बधाइ एवम् शुभकामना कार्यक्रममा मुख्यमन्त्री लामाले निर्माण व्यवसायीको समस्यालाई विगतका सरकारले गम्भीररुपमा नलिएको बताए ।

विगतमा आफू प्रदेशको अर्थमन्त्री हुँदा व्यवसायीको कुनै पनि भुक्तानी नरोकिएको स्मरण गराउँदै मुख्यमन्त्री लामाले व्यवसायीलाई भुक्तानी नदिने तर, योेजना मात्र थप्ने परिपाटी घातक भएको बताए ।
विकास समितिमा रहँदा पनि निर्माण व्यवसायीको हकहितका लागि काम गरेको मुख्यमन्त्री लामाको भनाइ थियो ।

‘निर्माण व्यवसायीको समस्या नबुभी उनीहरुलाई एकोहोरो गाली गर्ने प्रवृत्ति विलकुल ठीक होइन,’ मुख्यमन्त्री लामाले भने । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापाले निर्माण व्यवसाय चलायमान नहुने हो भने आर्थिक समृद्धि हुन नसक्ने बताए ।

कार्यक्रमका सभापति एवम् बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष सुवित श्रेष्ठले निर्माण व्यवसायीको मर्का बुझेकाहरु राज्यसत्तामा रहँदा निर्माण उद्योगको विकास हुनेमा आशावादी रहेको बताए । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण गौतमले निर्माण उद्योगमा भुक्तानीको समस्या सबैभन्दा विकराल रहेको बताए ।

बागमती प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजाराम न्हिसुतुले अब चाँडै निर्माण व्यवसायीको सबै समस्या समाधान हुने बताए । बागमती प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव राजकुमार बुढाथोकीले निर्माण व्यवसायमैत्री ऐन कानून अपरिहार्य भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*