हेटौंडा–गैरीगाउँ साइकल लेन बनाउन सांसद सिंहसमक्ष माग
हेटौंडा-हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ खण्डको करिब ६ किलोमिटर क्षेत्रमा साइकल लेन निर्माण गर्न प्रस्ताव गरिएको छ । हेटौंडाको सानोपोखरादेखि चुच्चेखोलाको गैरीगाउँसम् कान्तिलोकपथको दायाँबायाँ सडकपेटीमा साइकल लेन निर्माण गर्न माग गरिएको हो ।हिमालयन राइडर्स सोसाइटी मकवानपुरका सदस्यहरुले प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति तथा मकवानपुरे सांसद दीपकबहादुर सिंहसमक्ष कान्तिलोकपथमा साइकल लेन निर्माण गर्न प्रस्ताव गरेका हुन् ।
सानोपोखरा चोकदेखि गैरीगाउँसम्म सडकको दायाँबायाँ ब्यवस्थित ढलसहितको पेटी निर्माण गर्ने योजनामा साइकल लेन राख्ने प्रस्ताव गरिएको सोसाइटीका कार्यबाहक अध्यक्ष राजु थापामगरले बताए । कान्तिलोकपथको ६ किमि सडक खण्डलाई सडक पेटी, ढक्कनसहितको नाला ब्यवस्थापन गर्ने कार्यको बोलपत्र आब्हान गर्ने तयारी भइरहेको जानकारीमा आएकोले यो योजनामा साइकल लेन समाबेश गर्न आग्रह गरिएको थापामगरले बताए ।
सडक पेटी निर्माण गर्ने क्रममा साइकल लेन समाबेश गर्दा खासै लागत बृद्धि नहुने र सडक दुर्घटना पनि न्यून हुने भन्दै सोसाइटीले पूर्वाधार विकास समितिका सभापति सांसद सिंहसमक्ष प्रस्ताव राखेको सोसाइटीका अध्यक्ष थापामगरले जानकारी दिए । सडकको दुबैतर्फ साइकल लेन निर्माण गर्दा नेपालकै नमूना साइकल लेन बन्ने र हेटौंडालाई साइकल सहरको रुपमा पहिचान दिन सकिने सोसाइटीको धारणा छ । ‘हामीले माननीयज्यूसमक्ष साइकल लेन निर्माण गर्ने प्रस्ताव राखेका छौं, यसमा माननीयज्यूको पनि ध्यानाकर्षण भएको छ, उहाँले सकारात्मक बचन दिनुभएको छ’ सोसाइटीका अध्यक्ष थापामगरले साझाकुरासँग भने ।
सडकको दुबैतर्फ साइकल लेन निर्माण गर्ने र नगरक्षेत्रमा एउटा साइकल एकेडेमी स्थापना गर्ने विषयमा पूर्वाधार विकास समिति सभापति सांसद सिंहसमक्ष प्रस्ताव राखिएको सोसाइटीका संस्थापकअध्यक्ष चेतनाथ आचार्यले जानकारी दिए । सांसद सिंहसमक्ष सोमबार भएको भेटमा यस्तो प्रस्ताव राखिएको आचार्यले जानकारी दिएका छन् । सडकको दुबैतर्फ ढल सहितको पेटी निर्माण गर्दा पैदलयात्रुलाई र साइकल लेन बिस्तार गर्दा सडक अपा·मैत्री पनि हुने भएकोले यस्तो प्रस्ताव राखिएको सोसाइटीले जनाएको छ ।







