हेटौंडादेखि मनहरीसम्म ¥याफटिङ सरर…
हेटौंडा- हेटौंडाबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म नदीहरुमा खेलिने सहासिक खेल ¥याफटिङको प्रयास थालिएको छ । त्रिशुलीसहित देशका अन्य नदीहरुमा समेत ¥याफटिङ गराउँदै आएको समूहले हेटौंडादेखि रजैयासम्म व्यवसायिक ¥याफटिङको प्रयास थालिएको हो ।नेचर स्स्पोर्टस् एण्ड एडभेञ्चर प्रालिले दुुई वटा बोट ल्याएर पहिलो दिन मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती सहित जिल्लाका पत्रकारहरुलाई ¥याफटिङ गराएको हो । स्थानीय पर्यटन र आर्थिक विकासको दृष्टिले ¥याफटिङ खेल एक महत्वपूर्ण कदम मानिएको मनहरीका अध्यक्ष कालाखेतीले बताए । उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्वपूर्ण स्थान दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यसअघि त्रिशुली नदीमा मात्र उपलब्ध रहेको ¥याफटिङको अनुभव अब हेटौंडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन् । विशेषज्ञहरुका अनुसार, यो सेवालाई व्यवस्थित गरी उचित लगानी गर्न सकिएमा स्थानीय नगरपालिका, प्रदेश सरकार र स्थानीय समुदायले राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । नयाँ पहलले हेटौंडाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्नुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिका गाइड कटक गुरुङकाअनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले ¥याफटिङका लागि उत्तम रहेको छ । कम्पनीले हेटौंडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको ¥याफटिङ यात्राका लागि प्रति व्यक्ति ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । नयाँ पर्यटकीय गतिविधिले हेटौंडा र आसपासका क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ ।
नेपाल प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको देश हो । त्यसमा पनि साहसिक पर्यटकका लागि त झनै उत्कृष्ट गन्तव्य हो । साहसिक पर्यटनमा पनि क्यानोनिङ, बन्जी, प्याराग्लाइडिङ, पर्वतारोहण र ¥याफटिङ अझ बढी रुचाइएका क्षेत्र हुन् । तर यी क्षेत्रको पर्याप्त प्रचार हुन सकेको छैन । नेपालमा सन् १९६० मा त्रिशुलीबाट ¥याफटिङ सुरु भएको हो । नेपालमा ¥याफटिङका लागि भोटेकोशी, अपर सेती, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मस्र्याङदी जस्ता नदी प्रसिद्ध छन् ।







