जनता माविमा प्राथमिक उपचार सम्बन्धि अभिमुखीकरण
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा राष्ट्रका लागि योगदान मकवानपुरको आयोजनामा प्राथमिक उपचार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई प्राथमिक उपचारको महत्व र विधिहरुबारे जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको आयोजनकले जनाएको छ । कार्यक्रमसंस्थाका अध्यक्ष पदम प्रसाद सेढाई(मिलन) को सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान प्रमुख अतिथ्यातामा कार्यक्रम भएको हो । अध्यक्ष स्याङ्तानले यस्ता कार्यक्रमहरुको महत्व र आवश्यकता माथि जोड दिए ।
‘मानव जीवनमा घट्ने साना–साना समस्याहरु जस्तै डिप्रेसन, सर्पले टोक्ने, पानीमा डुब्ने, करेन्ट लाग्ने जस्ता घटनाहरुमा हामी आत्तिएर नभागी प्राथमिक उपचार गर्न सक्ने ज्ञान हुनु अत्यन्त आवश्यक छ । यो कार्यक्रम त्यस दृष्टिले निकै प्रभावकारी रहेको छ ।,’ उनले भने । अध्यक्ष स्याङ्तानले यस कार्यक्रमबाट विद्यार्थी र शिक्षकहरुले साना–साना घटनाले पनि जीवन जोखिममा पार्न सक्ने भन्ने महत्वपूर्ण ज्ञान प्राप्त गरेको बताउँदै राष्ट्रका लागि योगदान परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा विभिन्न आपतकालिन अवस्थाहरुमा गर्नुपर्ने प्राथमिक उपचारका विधिहरुबारे विस्तृत जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष सेढाईले व्यावहारिक प्रदर्शन (डेमो) मार्फत् विद्यार्थीहरुलाई बेहोस् भएमा, पानीमा डुबेमा, घाँटीमा केही अड्किएमा, विष सेवन गरेमा, नाथ्री फुटेको अवस्थाहरुमा गर्नुपर्ने प्राथमिक उपचारका तरिकाहरु सिकाएका थिए । यसैगरी, संस्थाका केन्द्रीय सदस्य एवम् मकवानपुरकापूर्व अध्यक्ष रुपक कालिराजले संस्थाको गतिविधि, उद्देश्य र योजनाहरु बारे जानकारी दिउ ।
करेन्ट लागेको र हृदयघात भएको अवस्थामा गर्नुपर्ने प्राथमिक उपचारका विधिबारे कार्यक्रममा सचेतना अभिवृद्धिगरिएको थियो । राष्ट्रका लागि योगदान मकवानपुरगढीका अध्यक्ष तारा प्रसाद पाण्डेले सर्पले टोकेको र छारे रोग लागेको अवस्थामा गर्नुपर्ने प्राथमिक उपचारबारे जानकारी दिउ । त्यसैगरी, संस्थाका जिल्ला उपाध्यक्ष विजय बजगाईंले डिप्रेसन सम्बन्धी विषयमा आफ्नो प्रस्तुतीकरण दिएका थिए । जनचेतनामूलक कार्यक्रम पश्चात् विद्यालयलाई २ थान प्राथमिक उपचार बक्ससमेत प्रदान गरेको थियो ।







