फरार व्यवसायी अमृत दाहाल पक्राउ
हेटौंडा- करिब दुई वर्षदेखि फरार रहेका हेटौंडाका व्यवसायी अमृत दाहाल सोमबार पक्राउ परेका छन् । पक्राउ परेसँगै दाहाल कैद भुक्तानका लागि भीमफेदी कारागार जाने भएका छन् । हेटौंडा उपमहानगरपालिका–६, स्थित गौरिटार निबासी दाहाललाई चेकअनादर मुद्दामा अदालतबाट सजाय तोकिएर पनि फरार रहेका थिए । अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएकोमकवानपुरका प्रहरीप्रमुख एसपी सीताराम रिजालले जानकारी दिए । दाहालमाथि चेक अनादर मुद्दामा १० असोज २०७८ मा मकवानपुर जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो ।
वादी शम्भुप्रसाद दुलालले ६ महिनाको सिदा खर्चसमेत २५ कार्तिक २०७९ मा दाखिला गरिसकेका छन् । अदालतले २८ कार्तिक २०७९ मा आदेश अनुसार मुद्दाको फैसला कार्यान्वयनको लागि थुनामा पठाउन पक्राउ गरी अदालतमा उपस्थिति गराउन पत्राचार गरेकोमा प्रतिवादी दाहाल फरार रहेका थिए । जिल्ला अदालतले १६ साउन २०८१ मा दाहाललाई पक्राउ गरी उपस्थित गराइदिन जिल्ला प्रहरी कार्यालयलाई ताकेतापत्र लेखेको थियो ।
नेकपा माओवादी केन्द्र निकट मानिने दाहाल आफ्नो पार्टी सत्तामा रहुञ्जेल पक्राउ पर्नबाट जोगिएका थिए । दाहाल प्रहरीको रेकर्डमा फरारको सूचिमा थिए । तर, उनी हेटौंडा बजारमै घुमफिर गरिरहेका देखिन्थे ।







