गोरक्षश्वर धाममा गङ्गाआरती सुरु

साझाकुरा
२०८१ श्रावण २९, मंगलवार १२:५४

हेटौंडा-साउनको अन्तिम सोमबार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा रहेको गोरक्षश्वर धाममा गङ्गाआरती सुरु भएको छ । आगामी दिनमा हरेक सोमबार अपरान्ह ५ बजे गोरक्षश्वर धाममा गङ्गाआरती गरिने गोरक्षश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए । गङ्गाआरती नियमित संचालन गर्नका लागि आवश्यक संरचना निर्माण गर्ने तथा अन्य बिबिधखर्च ब्यवस्थापनका लागि हेटौंडा उपमहानगरसमक्ष आर्थिक सहयोगको सम्झौता गर्ने तयारी भइरहेको समितिका उपाध्यक्ष ह्यग्रीव आचार्यले जानकारी दिएका छन् ।

बिगतमा पनि राप्तीतटस्थित गोरक्षश्वर धाममा गङ्गाआरती सुरुवात गरिएको भएपनि त्यसलाई निरन्तरता दिन नसकेको बताइएको छ । आरतीका लागि आवश्यक पूजा सामग्री, नैवेद्य आदि ब्यवस्थापन गर्न नसकेका कारण निरन्तरता दिन नसकेको हो ।

गोरक्षश्वर क्षेत्र विकास समितिको समन्वयमा आगामी दिनमा हरेक सोमबार अपरान्ह ५ बजेदेखि साढे पाचसम्म आधाघण्टा गङ्गाआरतीहुने बताइएको छ । गङ्गाआरती समितिका बरिष्ठ उपाध्यक्ष बिजेन्द्र अग्रवाल, महासचिव प्रकाश ढकाल, पण्डित बासुदेव बत्स, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो । यस्तै, साउनको अन्तिम सोमबार मकवानपुरका बिभिन्न शिवालयमा श्रद्धालु भक्तजनको भिड लागेको थियो । साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजन शिवालय पुगेका थिए ।

साउनको सोमबारलाई भगवान शिवको प्रियबार मानिने भएकाले यसदिन श्रद्धालु भक्तजन व्रत बस्ने, पूजापाठ, दान गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*