मउवा संघको माग पूरा गर्न उपमहानगर असमर्थ
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघको माग पूरा गर्न नसकिने जनाएको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०८१÷८२ को करको दरमा गरेको हेरफेरलाई कायमै राख्ने जनाएसँगै व्यवसायीको माग पूरा नहुने भएको हो ।मकवानपुर उद्योग वाणिज्य संघले उपमहानगरले करको दरमा गरेको हेरफेरको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएपनि उपमहानगरपालिका पछाडि नहट्ने भएको हो । उपमहानगरमा साउन १ गतेबाट अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ लागू भइसकेको अवस्थामा ऐन संशोधन गर्न नसकिने भएका कारण व्यवसायीको मागलाई सम्बोधन गर्न नसकिएको उपमहानगरले जनाएको छ ।
‘आर्थिक ऐन जारी भइसकेको अवस्था छ । स्थानीय सरकारले आर्थिक ऐन जारी भएपछि करको दर हेरफेर गर्न सक्दैन । त्यसकारण व्यवसायीको माग पूरा गर्न तत्काल सम्भव छैन,’ हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले व्यवसायी र उपमहानगरवीचको छलफलमा आगामी वर्षमा कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर प्रस्ताव गरिने बताए । चालु आवको साउन २९ गतेसम्ममा घरबाहल करबापत् ४४ लाख ७२ हजार ७९७ रुपैयाँ र व्यवसाय करबापत् ३८ लाख २४ हजार ६४० रुपैयाँ संकलन भइसकेको प्रवक्ता न्यौपानेले बताए । उपमहानगरले आर्थिक वर्ष ०७५÷०७६ पश्चात् चालु आवमा मात्रै करको दरमा हेरफेर गरेको हो ।







