श्रीमतीको हत्या आरोपमा २६ वर्षीय युवक पक्राउ
हेटौंडा- श्रीमतीको हत्या गरेको आरोपमा एक युवक (श्रीमान) पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन रहेका छन् ।२८ गते साँझको समयमा पाख्रिनले आफ्नै श्रीमती २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरी कालीखोलास्थित सामुदायिक बनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीको अनुसार श्रीमती लक्ष्मी पाख्रिनलाई आफ्नै घरभित्र धारिलो हतियार बन्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारी दुईवटा बोरामा हालेर कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको श्रीमतीका कपडाहरु लास गाडेको स्थान भन्दा केही अगाडि बोरामा हाली खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।
घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घर भन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको भनि प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडाहरु समेत खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।







