विभिन्न कार्यक्रमसहित रक्षाबन्धन मनाइयो
हेटौंडा-हरेकवर्ष श्रावण शुक्लपूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) पर्व देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइयो । यसका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई श्रावणी स्नान बिधि अनुसार स्नान गरेर गुरुपुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।मानवरक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ ।
गुरुपुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने जनविश्वास छ । यस दिन जुनसुकै बेला रक्षाबन्धन गर्न मिल्ने नेपाल पञ्चा· निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् । उनका अनुसार विशिष्ट व्यक्तिले मात्र भद्रा नक्षेत्र कटाइ दिनको १ बजेर ३१ मिनेटपछि रक्षाबन्धनको कर्म गर्नु उपयुक्त थियो ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले यसको दिनलाई ऋषितर्पणी भन्ने गरिन्छ । वैदिक गुरुपरम्परा अनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।
रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि देशभरका पशुपतिनाथ मन्दिर परिसर, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम, चितवनको देवघाटलगायत ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लाग्ने गर्छ । अरु मठमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । जनैपूर्णिमाका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो । तराईक्षेत्रमा यसै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ ।







