मकवानपुरमा द्रुतमार्गलाई ३४ हजार वर्गमिटर जग्गाको स्वीकृत

साझाकुरा
२०८१ भाद्र ८, शनिबार १२:५७

हेटौंडा-सरकारले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिब ३३ हजार ९७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने भएको छ ।निर्माणाधीन द्रुतमार्गको मकवानपुरक्षेत्रमा यतिबेला धमाधम काम भइरहेको छ । बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकामा नेपाली सेनाले ठेक्का लगाएर अग्ला पुल र सुरुङमार्ग निर्माण गरिरहेको हो । २०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले द्रुतमार्ग निर्माणका लागि मकवानपुरमा थप जग्गा प्रदान गरिने भएको जानकारी दिए ।

राज्यको उच्च प्राथमिकतामा परेको परियोजनाका रुपमा मकवानपुरको बकैया गाउँपालिकामा पर्ने द्रुतमार्गको २१ साउनमा मात्रै धेद्रे सुरुङ दुवैतर्फ ‘ब्रेक थ्रु’ अर्थात् छेडिएको थियो । यसअघि बकैया गाउँपालिकामै पर्ने लेनडाँडाका दुबै सुरुङको गत जेठमै ब्रेक थ्रु भइसकेको थियो । ७० दशमलव ९ सय ७७ किलोमिटर लामो द्रुतमार्गमा कुल १० दशमलव ३ सय ९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धद्रे सुरुङ १ हजार ६ सय ९१ मिटर लामो छ । यस आयोजनामा ६ स्थानमा सुरुङ बन्दैछन् ।

मकवानपुरकै महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदैछ । काठमाडौंबाट निजगढततर्फ आउने सुरुङ ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनेर सकिएको छ । त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिएको छ । सैनिकप्रवक्ता एवम् सहायकरथी गौरवकुमार केसीका अनुसार ६ सुरुङमध्ये ३ वटाको ठेक्का लागेर काम भइरहेको छ ।

जसमध्ये सबैभन्दा लामो ३ हजार ३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ । महादेवडाँडा पनि मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्दछ । द्रुतमार्गको तीनवटा मुख्य सुरुङ मकवानपुर जिल्लामै पर्दछ । द्रुतमार्ग आयोजनाको समष्टिगत प्रगति भने ३५ दशमलव ३८ प्रतिशत पुगेको सेनाले जानकारी दिएको छ ।
२१ बैशाख २०७४ को मन्त्रीपरिषद् निर्णयअनुसार काठमाडौं–तराई द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो ।

जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ । अहिले ६ दशमलव ५ किलोमिटरदेखि ७० दशमलव ९ सय ७७ किलोमिटर सड्क खण्डमा काम भइरहेको छ । तर, सुरुवाती बिन्दुबाट ६ दशमलव ५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन नसकेको सेनाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*