बनस्खण्डीमा श्रीमद् भागवत महायज्ञ सुरु
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ बनस्खण्डीदेवी सामुदायिक बन उपभोक्ता समितिको प्राङ्गणमा शुक्रबारबाट श्रीमद् भागवत ज्ञानमहायज्ञ सुरु भएको छ । बनस्खण्डी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठको सभाध्यक्षता र नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो । महायज्ञको उद्घाटन गर्दै नेता बानियाँले हेटौंडाको मुटुमा रहेको बनस्खण्डी वन क्षेत्रभित्र रहेको राधाकृष्ण मन्दिरको विस्तार र विकास गर्दै यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने बताए ।
नेपालमा विभिन्न धर्म, संस्कृति र जातजातिको विशेष बाहुल्य रहेको बताउँदै नेता बानियाँले महायज्ञमा उपस्थित भई कथाश्रवण गरि आफ्नो आर्थिक स्थिति हेरी सकेको दान गर्दै हामी सबै मिलेर यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन लाग्नुपर्ने बताए ।महायज्ञ उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, कथावाचक पण्डित कपिलदेव भट्ट, उपवाचक पण्डित टेकनाथ ढकाल, बनस्खण्डी वन उपभोक्ता समितिकी सचिव लक्ष्मी तिमल्सिना गौतम लगायतले मन्तव्य ब्यक्त गरेका थिए । भदौं १३ गतेसम्म संचालन हुने महायज्ञमा उठेको रकमबाट राधाकृष्ण मन्दिरको बिस्तार, ब्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।







