चित्लाङको १३१ वर्ष पुरानो ढुंगेसाँघु

साझाकुरा
२०८१ भाद्र ९, आईतवार १०:४४

हेटौंडा- मकवानपुरको उत्तरीभेगमा पर्ने थाहा नगरपालिका ऐतिहासिक पर्यटकीय क्षेत्र हो । थाहाको टिस्टुङ, पालुङ र चित्लाङ गाउँमा ऐतिहासिक वस्तुहरु अझै छन् ।पुराना धार्मिकस्थल, मल्लकालीन शिलालेखहरु, महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरमा जाने हो ? कसन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?’ भन्ने यात्री कबिता रचना गरेको थलो पनि चित्लाङमै छ । मल्लकालीन ईतिहासँग जोडिएका विषय, ऐतिहासिक पर्व र पर्यटकीय क्षेत्रले थाहा नगरपालिका भरिपूर्ण छ । चन्द्रागिरीको काखमा रहेको चित्लाङ ऐतिहासिक थलो हो ।

प्राकृतिक, धार्मिक र ऐतिहासिक वस्तुहरुले चित्लाङ भरिभराउ छ । थानकोटदेखि चन्द्रागिरीसम्मको केवलकार र थानकोटदेखि चित्लाङसम्मको सडकमार्गले चित्लाङ पर्यटकहरुको गन्तव्यस्थल बनेको छ । चित्लाङमा अहिले ३५ वटा होमस्टे र ८ वटा रिसोर्ट संचालनमा छन् । हिउँद या वर्षायाम होस्, शुक्रबार र शनिबार यहाँका होमस्टे र होटल भरिभराउ हुने गरेका छन् । चित्लाङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ, थाहा नगरपालिका–९ साबिकको चित्लाङ गाविस–२ नयाँपौवामा रहेको १३१ वर्ष पुरानो ‘ढुंगेसाँघु’ । खोला तर्न स्थानीयले जोहो गरेको ‘ढुंगेसाँघु’ अहिले पनि महत्वका साथ लिने गरिन्छ ।

वि.सं. १९५० तिर स्थानीयले खोलातर्न सहज होस् भनेर ‘ढुंगेसाँघु’ हालेको बुढापाका बताउँछन् । ‘ढुंगेसाँघु’ १० मिटर लम्बाइ र डेढ मिटर चौडाइको रहेको स्थानीय बुद्धरत्न मानन्धरले बताए । विगतदेखि नै पैदलयात्रुहरु यही ‘ढुंगेसाँघु’ भएर आवतजावत गर्छन् । करिब १ सय ३१ वर्षअघिदेखि संचालनमा आएको यो साँघुको कसैले मर्मत गर्नु परेको छैन र जोखिम पनि मोल्नु परेको छैन ।

त्रिभुवन राजपथ संचालनमा आउनुअघि राजधानी आवतजावत गर्ने मुख्य प्रवेशद्वारका रुपमा चित्लाङ–चन्द्रागिरी रहेको थियो । चित्लाङ–चन्द्रागिरी भएर राजधानी आवतजावत गर्ने स्वदेशी एवम् विदेशी सबै पैदलयात्रुले यही साँघु प्रयोग गर्थे । चित्लाङ अहिले पर्यटकीय क्षेत्रकारुपमा विकसित हुँदै गएको छ । यहाँ आउने स्वदेशी एवम् विदेशी पर्यटक ढुंगाको यतिलामो साँघु अर्थात् पुल देखेर अचम्मित हुने गरेका छन् ।

१ सय ३१ वर्षभन्दा अघि यो ढुंगाको साँघु हालेको जानकारी गराएपछि त उनीहरु झन् छक्क पर्ने गरेका छन् । चित्लाङ आएका जो कोही पनि यो ढुंगेसाँघु हेर्न जाने गर्छन् । ‘साँघु हाल्ने, बोकेर यहाँ ल्याउने र ढुंगा फोड्ने अहिले यहाँ कोही पनि जीवित छैनन्,’ ७७ वर्षीय धनबहादुर लामाले भने, ‘मेरो बुबालगायत १०÷१२ जनाले छिनोले ढुंगा खोपेर साँघु बनाएको कुरा बुबाले सुनाएका थिए ।’अहिलेजस्तो ढलान गरेर पक्की पुल बनाउने चलन त्यतिबेला थिएन ।

त्यतिबेला गाउँलेहरुले आफ्नै तरिकाले काठ र ढुंगाको साँघु बनाएर खोला वारपार गर्थे । काठको साँघु दुईवर्ष पनि नटिक्ने भएकाले पाएसम्म खोलामा ढुंगाको साँघु हाल्ने गरेको स्थानीय बताउँछन् । त्यही साँघुमध्ये चित्लाङको यो सबैभन्दा लामो र पुरानो साँघु भएको ७८ वर्षीय धर्म मानन्धरले सुनाए । यति लामो र पुरानो ढुंगाको साँघु चित्लाङमा मात्र होइन, मकवानपुरमा नै नभएको उनको दाबी छ ।चित्लाङस्थित चन्द्रागिरीको पाखाबाट ठूलो अजंगको ढुंगा घनले फोडेर र छिनाले काटेर लामो र साँघुको आकार बनाएको पनि उनले सुनाए ।

स्थानीयवासीले महिनौं दिन लगाएर साँघुको आकारको ढुंगा बनाएपछि फराकिलो बाटो भएको स्थानमा नोल लगाएर बोकेर र सानो बाटोमा घिसारेर साँघु पौवाखोलामा ल्याएर राखेको ८५ वर्षीय बाबुकाजी मानन्धरले बताए । ‘मैले पनि साँघु हालेको देखेको होइन, बाआमाले भनेको सुनेको हुँ, सानैदेखि म पनि यो ढुंगेसाँघु तर्दै आएको छु ।’

यसमा तपाइको मत

Your email address will not be published.


*