१० नं. वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा कार्यालय बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उपमहानगरका १९ वडामध्ये बालमैत्री घोषणा हुने १० नम्बर वडा पाँचौ हो । हेटौंडामा यसअघि २, ७, ८ र १७ नम्बर वडा बालमैत्री घोषणा भइसकेको छ ।नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शनिवार १० नम्बर वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
यस वडाले ५१ वटा सूचकलाई पार गर्दै पाँचौ बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको वडाअध्यक्ष फुर्वादोर्जे लामाले बताए । बालमैत्री वडा घोषणामा सफल भएपनि यसको दिगोपन र निरन्तरतामा चुनौती रहेको उनले बताए ।
यस वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सूचकमध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको वडाअध्यक्ष लामाले जानकारी दिए । बाँकी सूचकमध्ये एकमा ९५ प्रतिशत, एकमा ८१ प्रतिशत प्रतिशत नतिजा प्राप्त गरेको उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरप्रमुख लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भइरहेको बताइन् ।
यस वडामा १८ वर्षमुनिका १ हजार ८ सय ९५ जना बालबालिका रहेका छन् । सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालय रहेको यस वडाका विद्यालय जाने उमेर समूहका सबै बालबालिका विद्यालय भर्ना भएको सुनिश्चित गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, विभिन्न वडाका वडाअध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।







