चित्लाङमा १५ करोड लगानीमा गोब्रे च्याउखेती
हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–९ टुपीखेलमा १५ करोड रुपैयाँको लगानीमा १९ हजार बल्बमा गोब्रे च्याउको उत्पादन गरिँदै आएको छ । ३९ जना च्याउ कृषकको सामूहिक प्रयत्नबाट ७ वर्षदेखि सञ्चालित ‘इन्द्रेणी मसरुम फार्म’ले गतवर्ष मात्रै ४ करोड १५ लाख मूल्यको च्याउ बिक्री गरेको बताइएको छ ।खासगरी गोबर भएको ठाउँमा उम्रने भएकाले च्याउको यो प्रजातिलाई गोब्रे च्याउ भनिएको च्याउबिज्ञहरुले बताएका छन् । यो च्याउ चिसो हावापानि भएको ठाउँमा मात्र खेती गर्न सकिने भएकाले यसलाई पहाड, उपत्यका वा तराईमा मौसम अनुसार खेती गर्न सकिन्छ । वातानुकुलित कोठामा पनि यसको खेती गर्न सकिन्छ । तर, यसका लागि लगानी धेरै गर्नुपर्ने भएकाले नेपालमा अहिलेसम्म मौसमअनुसार नै यो च्याउको खेती हुदै आएको छ ।
गोब्रे च्याउखेती गर्नको लागि स्थानअनुसार मौसम मिलाएर कम्पोष्ट मल तयार गर्नुपर्दछ । तयारी कम्पोष्ट मलबाट काठको ¥याकमा च्याउ रोप्ने बेड बनाई बेडमा च्याउखेती गरिन्छ । काठमाडौं उपत्यकामा असार साउनमा मल बनाई भाँडामा बीउ रोप्ने र पुस माघमा मल बनाई फागुनमा बीउ रोप्ने गरिन्छ । थाहा नगरपालिकास्थित चित्लाङ चिसो हावापानी भएका कारण च्याउखेती गर्ने किसानका लागि उर्वरा क्षेत्र बनेको छ । किसानले सुरुमा ८० लाख रुपैयाँ को लगानीमा च्याउखेती सुरु गरेका थिए ।
काठमाडौं अन्य ब्यवसाय गरिरहेका र गाउँमै रहेका किसानको संयुक्त लगानीमा संचालित फार्मबाट उत्पादित च्याउको मुख्य बजार काठमाडौं हो । ‘यहाँ उत्पादित सबै च्याउ काठमाडौंका होलसेलका व्यापारीलाई बिक्री गर्ने गरेका छौँ,’ फार्मका प्रबन्धक राजु श्रेष्ठले भने, ‘प्रतिकेजी चार सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ’ । श्रेष्ठले गोब्रे च्याउको मागअनुसार उत्पादन गर्न नसकिएको जानकारी दिएका छन् । पौष्टिकतत्व बढी हुने भएकोले पनि उपभोक्ताले यो च्याउ खान रुचाउने गरेका छन् ।
काठमाडौंदेखि नजिक र चिसो हावापानी भएको चित्लाङको टुपीखेलमा गोब्रे च्याउ उत्पादनको निम्ति आवश्यक हावापानी छ । प्राविधिक सुजित खड्कीले वातावरण सन्तुलन कायम गर्न सहज हुने भएकाले च्याउको उत्पादन राम्रो भएको बताए । ‘गोब्रे च्याउलाई १४ देखि २७ सेन्टिग्रेटसम्मको वातावरण आवश्यक छ,’ उनले भने । २ वटा टनेलसहित ६ वटा टहरामा च्याउ उत्पादनलाई वातावरण मिलाउनका लागि एसी जडान गरिएको छ । १० केजीको प्रत्येक बल्बमा नरिवलको जटाको धुलो, माटो र अर्गानिक मल हालेर प्याक गरिन्छ । बल्बमा प्याक गरेको २० दिनमा मल बन्छ । त्यसमा च्याउको बीउ रोपिन्छ ।
बीउ रोपेको ३५ दिनपछि च्याउ बिक्रीका लागि तयार हुने श्रेष्ठले बताए । एउटा बल्बबाट करिब ३ केजी च्याउ उत्पादन हुनेगर्छ । ‘च्याउ निकालेको बल्बको मल, माटो खन्याएर पुन पहिलाकै जसरी नरिवलको जटाको धुलो, माटो र कुखुराको मल हालेर पुनः बल्ब बनाइन्छ,’ उनले भने, ‘पहिलाको मल र माटो कृषिजन्य वस्तु उत्पादनका लागि मलको रुपमा बिक्री गर्ने गरिएको छ ।’ चित्लाङको च्याउ फार्ममा २० जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।
यहाँ उत्पादन गरिएको च्याउ पूर्णरुपमा अर्गानिक हुने भएकाले मागअनुसार उत्पादन गर्न नसकिएको प्राविधिक खड्कीले बताए । ‘यो च्याउ स्वास्थ्यवर्धक छ,’ उनले भने । च्याउमा विद्यावारिधि गरेका गण्डकी प्रदेशका विज्ञान प्रतिष्ठान पोखराका वैज्ञानिक डा. शिव देवकोटाले च्याउमा पोषणतत्व, फाइवर र प्रोटिन पाइने बताउँछन् ।







