होटलमा युवती मृत फेला
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । हेटौंडा–११ थानाभ¥याङकी २३ बर्षीया एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरीनायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।प्रहरीका अनुसार न्यौपाने होटलको कोठा नम्बर २०५ मा सोमबार बिहान ११ बजे मृत फेला परेकी हुन् । शवलाई हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थपअनुसन्धान भइरहेको डिएस्पी भण्डारीले बताए । बिहान अबेरसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
आइतबार साँझ ५ बजे होटल पुगेपछि उनीहरुले बियर र मम मगाएर खाएको होटल संचालकले जानकारी दिएका छन् । मृतक युवतीको आँखामा चोट लागेको, कोठा रक्ताम्य भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनी हिजो आइतबार अपरान्ह ५ बजे एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ८ बजे होटलबाट बाहिरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवतीसँगै आएका युवकले न्यौपानेको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको हुनसक्ने प्रहरीको भनाइ छ । होटलको आगन्तुक पुस्तिकामा उल्लेख गरिएको विवरणअनुसार युवकले मोवाइल नम्बर गलत टिपाएको पाइएको छ ।







