श्रीकृष्ण जन्माष्टमी मनाइयो
हेटौंडा- भाद्रकृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । मकवानपुरको बिभिन्न कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुँईचो लागेको थियो ।‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ । हेटौंडा–२ पिपलबो टस्थित कृष्ण मन्दिरमा भक्तजनको दिनभर भिड लागेको थियो ।
मकवानपुरगढीको कृष्ण मन्दिर, हटिया जुरेथुमस्थित कृष्ण मन्दिर, भैंस्थित कृष्ण मन्दिर, थाहानगरस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । वैदिकसनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिन देशभरका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तनका साथै विशेष गरी महिला, पुरुष ‘निराहार व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षागर्न भगवान् विष्णुको आठौँ अवतारकारुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका किम्बदन्ती छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थ हो ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना राक्षस, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आजकै दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यसै उपलक्ष्यमा विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा मध्यरातमा श्रीकृष्णको जन्म भएपछिको भोलिपल्ट निकाल्ने गरिन्छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सामुदायिक एवम् संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवम् राधाका रुपमा शृंगार गरेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुग्ने अनुमान गरिएको छ । सामाजिक संजालमा पनि श्रीकृष्ण जन्माष्टमिका बारेमा बिभिन्न धारणाहरु ब्यक्त भएका छन् ।







