राप्तीखोलामा बाढीमा फसेका ४ जनाको सकुशल उद्दार

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका ४ जनालाई राप्तीखोलाको भलबाढीबाट बुधबार राति साँढे नौ बजे सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रहरीचौकीका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयबासीले उद्दार गरेका हुन् ।दिउँसो घाम लागिरहेको अवस्थामा ३ जना महिला र एक जना पुरुष राप्तीखोलाको बीचबगरको काँसघारीमा घाँस काट्न गएका थिए ।
अपरान्ह ४ बजेदेखि परेको पानीले राप्तीमा बाढी आएर बीचबगरमा उनीहरु अलपत्र परेको मनहरी गाउँपालिका–५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । मध्यान्हमा घाम लागेको थियो र स्थानीय पार्वती आचार्य, सुमिना आचार्य, रोशनी सापकोटा, राजकुमार सापकोटा घाँस काट्न खोलाको बगरमा गएको वडाअध्यक्ष अधिकारीले जानकारी दिए ।घाँस काटिरहेको समयमा खोलामा अचानक बाढी आएको र चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए ।
राप्तीमा साँझपख आएको बाढीले मनहरी गाउँपालिका–५ का वडासदस्य काजीमान स्याङतानको ट्याक्टर बगाएको वडाअध्यक्ष अधिकारीले बताए ।किसानको बारीमा फलेको काँक्रो टिपेर हेटौंडा बजारमा बिक्री गर्न ल्याउँदै गरेको ६५ बोरा काँक्रो पनि राप्ती खोलाले बगाएको वडाअध्यक्ष अधिकारीले जानकारी दिए । राप्तीखोलामा आएको बाढीका कारण बगरको बीच भागमा अलपत्र परेका स्थानीयलाई चितवनको भण्डारा, हेटौंडाको १४ नं. गणका सशस्त्र प्रहरी, सुनाचुरी र सुपारेटार ब्यारेकका नेपाली सेना, नेवारपानी र मनहरी प्रहरीचौकीका प्रहरी र स्थानीयले अढाई घण्टाको प्रयासपछि सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।