प्रमुख करअधिकृत भट्टराईसँग छलफल
हेटौंडा- आन्तरिक राजश्व कार्यालय, हेटौंडाबाट विदाईको क्रममा रहनुभएका प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराईसँग बिहीबार छलफल कार्यक्रम गरिएको छ ।मकवानपुर उद्योग वाणिज्य संघले अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा छलफल कार्यक्रम गरेको हो । प्रमुख करअधिकृत भट्टराई हेटौंडाबाट रसुवा भन्सार कार्यालयप्रमुखको रुपमा रसुवा सरुवा भएका छन् । उनले कार्यक्रममा मन्तव्य राख्दै सरुवा बढुवा जागिरे जीवनको नियमित प्रक्रिया भएको, जसको कारण देशभर सरुवा हुन पाउँदा देश घुम्ने अवसर जागिरे जीवनले जुटाइदिएको बताए ।
करप्रमुखको रुपमा मकवानपुरमा आफ्नो सेवाअवधि एकवर्ष तीन महिना एघार दिन भएको बताए । मकवानपुरमा आफ्नो कार्यभारवहन गरिरहँदा उद्योगी÷व्यवसायीसँग कुनै द्वन्द्वात्मक अवस्था नभएको, पदीय जिम्मेवारी निभाउने सन्दर्भमा नियम पालना गराउनबाहेक दुःख दिने मनसाय राखेर कुनै व्यवहार नगरेको उनको भनाई थियो । रसुवा पर्यटकीय जिल्ला रहेको, मानसरोवर जाने प्रमुख नाकाको रुपमा रसुवा रहेको र केरुङनाका जोडिएको उनले बताए ।
संघका तर्फबाट अध्यक्ष गुप्ता, उपाध्यक्ष प्रमोदसिंह रानाभाट र महासचिव दीपक उप्रेतीले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख करअधिकृत भट्टराईको भविष्यमा थप प्रगतिको कामना गरिएको थियो । मउवासंघका अध्यक्ष गुप्ताले उद्योगी÷व्यवसायीसँग हातेमालो गर्दै राज्यलाई कर संकलनमा योगदान गर्न सफल भएको र उद्योगी÷ व्यवसायीसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै सौहाद्ररुपमा कर प्रशासनको नेतृत्व गरेकोमा प्रशंसा गरे । त्यसैगरी संघका उपाध्यक्ष रानाभाटले समय–समयमा करका प्रावधानबारे अनुशिक्षणगराई उद्योगी÷व्यवसायीलाई सुसूचित गराएकोमा धन्यवादव्यक्त गरे ।







