कुलेखानीको क्षमता साँघुरिदै, विद्युत उत्पादनमा गिरावट

साझाकुरा
२०८१ भाद्र २१, शुक्रबार १२:२७

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिकासँग जोडिएको कुलेखानी जलाशयमा पाटी अट्ने क्षमता साँघुरिदै गइरहेको छ । जसकारण विद्युत उत्पादनमा पनि गिरावट आएको छ ।सुरुमा कुलेखानी जलाशयमा ८५ दशमलब ३ मिलियन क्युसेक पानी अटने क्षमता थियो, त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ । कुलेखानी सञ्चालनमा आएको ४१ वर्षमा १३ मिटर भन्दाबढी जलाशयको पिँधको सतह बृद्धि भएको छ ।

सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत् उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ ।कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिँधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आएको छ । सुरुको अवस्थाको तुलनामा विद्यूत प्राधिकरणले वार्षिक करिब ३५ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । कुलेखानी जलाशयको पानी संकलनको क्षमता नै न्यून हुँदै गएकाले विद्युत् उत्पादनमा पनि कमी आएको हो । सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने ग¥थ्र्यो । तर, अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिटमात्र विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ ।

जलाशयको पानी संकलनको क्षमतामा नै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो । ‘पानी संकलन क्षमतामा ह्रास आएपछि उत्पादन स्वतः प्रभावित हुन्छ । करिब २७ मिलियन क्युसेक पानी अटने क्षमतामा ह्रास आएको छ,’ कुलेखानी प्रथमका एक प्राविधिकले भने । बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, वालुवा र पातपतिङ्गर जलाशयमा थुपार्ने कारणले गर्दां सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साघुँरिदै गएको हो ।

२०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संकलन भएको पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलन भएकोमध्ये ५० मिटरमात्र पानी विद्यूत उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४६ मिटरमात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । सरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो, दोस्रो र तेस्रो निर्माण गरिएको हो ।

जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्षमतामा कमी आएपछि कुलेखानीका तीनवटै विद्युत् उत्पादन गृह प्रभावित हुनेछन् । विज्ञहरुले यो जलाशयको आयु ५० वर्ष तोकेका छन् । जलाशयमा संकलन भएको ढुंगा, माटो र लेदोहरु झिक्नका लागि जलाशय पूरै खाली गर्नुपर्छ । इन्द्रसरोवरको निर्माण एक करोड २० लाख अमेरिकन डलरमा गरिएको थियो ।नेपाल विद्युत् प्राधिकरणको‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष भरिने अवस्थामा पुगेको छ । जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले कुलेखानीको जलाशय इन्द्रसरोवर यो वर्ष भरिने अवस्थामा पुगेको हो ।

कुलेखानीजलाशयमा बिहीबार बिहान ८ बजेसम्म एक हजार ५ सय २३ दशमलब ५० सेन्टिरमिटर पानी संकलन भएको छ । कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी अटने क्षमता छ । अब साढे ६ मिटर पानी संकलन भएपछि जलाशय भरिन्छ ।जलाधार क्षेत्रमा वर्षा कम भएकाले विगत दुई वर्षदेखि कुलेखानी जलाशय भरिएको थिएन । गतवर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २३ दशमलब ३१ सेन्टिमिटरमात्र पानीको सतह थियो । ‘आजभोलि करिब प्रतिघन्टा एक सेन्टिमिटर पानी जलाशयमा थपिने गरेको छ,’ कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले भने, ‘यो वर्ष जलाशय भरिने आशा गरेका छौं ।,’ उनका अनुसार कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिटहरु अहिले समय÷समयमा सञ्चालन गर्ने गरिएको छ ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीनवटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाई र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग जलाशयको पानीले ढाकिसकेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*