थाहामा व्यायामशालादेखि घुम्ती एक्सरे सेवासम्म
हेटौंडा- मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विविध नवीनतम अभ्याससहित नागरिकलाई सेवाप्रदान गरेको जनाएको छ । स्वास्थ्यशाखाले वार्षिक समीक्षा कार्यक्रमकोअवसरमा शाखाले गरेका कामको विषयमा जानकारी दिएको हो । शाखाले थाहा–६ मा रहेको बज्रवाराही स्वास्थ्यचौकी परिसरमा व्यायमशाला स्थापना गरेको छ । व्ययामशालामा विहानै नागरिकको भिड लाग्ने गरेको शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए । अन्य पालिकाको भन्दा फरक अभ्यास सहित यो कार्यक्रम संचालनमा ल्याउँदा प्रभावकारिता देखिएको समीक्षाको अवसरमा बलामीले प्रष्ट पारे ।
थाहानगरको १२ स्वास्थ्य संस्थामध्ये ५ वटा स्वास्थ्य संस्थाबाट सशुल्क प्रयोगशालाको सेवा सुरु गरिएको छ । नगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, आग्रा स्वास्थ्यचौकी, टिष्टुङ, बज्रवाराही र चित्लाङ स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा प्रवाह भइरहेको छ । पालिकाले गत आर्थिक वर्षबाटै अक्सिजन प्लान्ट संचालनमा ल्याइ वितरण कार्यको शुभारम्भ गरेको छ । थाहा नगरपालिका वडा नम्बर ४ को क्याम्पाडाँडामा निर्माणाधीन १५ शैयाको अस्पताल परिसरमा प्लान्ट जडान गरी अक्सिजन उत्पादन तथा वितरण सेवा सुरु गरेको हो । यो सेवाअन्तर्गत विपन्न विरामीलाई निःशुल्क सिलिण्डर तथा अक्सिजन वितरण गर्दै आएको छ । विपन्न विरामीलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ ।
पालिकाले १२ वटै वडामा निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा पनि दिदै आएको छ । वडामा रहेका स्वास्थ्य संस्थामा घुम्ती शिविरकै रुपमा डाक्टरसहितको टोलीबाट यस किसिको सेवाप्रवाह गर्दै आएको नगरपालिकाले जनाएको छ । यस किसिमको सेवाबाट प्रायः गर्भवती महिला लाभान्वित भएका छन् । गर्भमा रहेको शिशुको अवस्थाको विषयमा थाहा पाएपछि उपचार तथा परामर्शमा सहज भएको गर्भवती महिलाको प्रतिक्रिया रहेको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सिआर प्रणालीको एक्सरे मेशिन समेत संचालनमा ल्याइएको छ ।
यसबाट नागरिकलाई थप सेवाप्रदान भैरहेको छ । पालिका क्षेत्रमा रहेका ५४ वटा आमा समूहमा अभिभावक शिक्षा संचालन हुँदै आएको छ । थाहा नगरले घरमा सुत्केरी शुन्य अभियान संचालन गर्दै आएको छ । पालिकाको १२ मध्ये ११ वटा वडा घरमा शुन्य सुत्केरी वडा घोषणा भैसकेको छन् । ७ नम्बर वडा भने बाँकी रहेको नगरपालिकाले जनाएको छ । पालिकाका सबै १२ वटै स्वास्थ्य संस्थामा २४ सै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामा प्रसुतिका लागि आउने गर्भवती र उनका कुरुवालाई प्रसुति प्रतिक्षालय तथा निःशुल्क खाने बस्ने सेवा व्यवस्थापन गरिएको छ । यस कार्यक्रमबाट संस्थागत सुत्केरी हुने संख्यालाई बढवा दिएको छ । संस्थागत सुत्केरीका कारण आमा र बच्चाको मृत्युदरमा समेत कमी आएको छ ।
नगरकै लगानीमा स्वास्थ्य संस्थामा खोप क्लिनिक तथा बर्थिङ सेन्टरको निर्माण भई सञ्चालनमा रहेको छ । बर्थिङ सेन्टरका कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिएको छ । संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्नका लागि गर्भवतीलाई अण्डा तथा तोरीको तेल वितरण गर्ने कार्यक्रम संचालनमा ल्याइएको छ । सबै स्वास्थ्य संस्थामा बालउत्प्रेरणा कक्ष तयार गरिएको छ । यसले गर्दा स्वास्थ्य संस्थाप्रति बालबालिका आकर्षित भएको स्वास्थ्य संस्था प्रमुखको भनाइ छ ।







