थाहाको करको दायरामा १८ संस्थागत करदाता समेटिए
हेटौंडा-थाहा नगरपालिका क्षेत्रमा रही सेवामूलक व्यवसाय संचालन गर्दै आएका १८ संस्थागत करदाता पालिकाको करको दायरामा आएका छन् ।नगरपालिकाले प्रकाशन गरेको आर्थिक वर्ष२०८०÷८१ को वार्षिक समीक्षा प्रतिवेदनमार्फत यो तथ्यांक सार्वजनिक गरिएको छ । यसरी करको दायरामा आउने संस्थागत करदातामा निजी विद्यालयतर्फ ५ वटा रहेका छन् । बैर्डिङ ३ वटा, लघुवित्त ७ वटा, बीमा कम्पनी ५ वटा र सहकारी संस्था १८ वटा रहेको उद्योग विकास शाखाप्रमुख रोजिना खड्काले जानकारी दिइन् ।
करको दायरामा आएका कतिपय व्यवसाय नयाँ पनि रहेका छन् भने कतिपय लामो समयदेखि कर नतिर्ने संस्था रहेको खड्काले जानकारी दिइन् । पटक–पटकको पालिकाको सहजीकरणमार्फत उनीहरु करको दायरामा आएको उनको भनाइ थियो । यसैबीच समीक्षा प्रतिवेदनमा पाँच लाखसम्म पूँजी भएका उद्योग नगरपालिकाले दर्ता गर्दै आएको जनाइएको छ । हालसम्म थाहा नगरपालिकामा १ हजार ४ सय १९ व्यवसाय प्रणालीमा आवद्ध भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उद्योग वाणिज्य संघ र थाहा नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०८०÷८१ मा उद्योग वाणिज्य संघको भवनमा ४ दिने करशिविर सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
शिविरका माध्यमबाट वडा नम्बर १, २, ३, ४, ६, ११ र १२ का संस्थागत व्यवसायलाई करको दायरामा ल्याइएको बताइएको छ ।पालिकाको आन्तरिक स्रोत बढाउनका लागि आर्थिक ऐनले तोकेको कर संकलनलाई कडाइगरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रतिक्रिया छ । करलाई सेवाप्रवाहसँग जोडेर भएपनि दायरामा नआएका करदातालाई दायरामा ल्याइने प्रशासकीय अधिकृत गिरीको भनाइ छ । यसका लागि कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण सरोकारवालाको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।







