गौरीटार रंगशाला र पाउडर प्लान्ट निरीक्षणमा मन्त्री काफ्ले
हेटौंडा- बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गौरीटार रंगशाला, दूध पाउडर प्लान्ट र प्रादेशिक कृषि थोकबजारको निरीक्षण गरेका छन् ।यी तीनवटै योजना बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा बहुवर्षीय ठेक्का लगाएर काम अगाडि बढाएको थियो । परियोजनाको प्रगति मूल्यांकनका लागि मन्त्री काफ्लेले सोमबार स्थलगत निरीक्षण गरेका हुन् । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा करिब २४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको फुटबल मैदान र प्याराफिटको अनुगमन गर्दै उनले करिब ४ करोड रुपैयाँ खर्चेर निर्माण भएको फुटबल मैदान असाध्यै कमजोर रहेको बताए ।
मन्त्री काफ्लेले त्यसलाई तत्काल पुनर्निर्माण गर्न समेत निर्देशन दिए । उनले प्याराफिट निर्माण भएको स्थानका पिल्लरमा केही समस्या देखिएको भन्दै तत्काल यो समस्याको समाधान गर्न खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । फुटबल मैदान र प्याराफिट निर्माणका लागि प्रदेश सरकारले करिब ९० करोड रुपैयाँ खर्च गर्दैछ । प्रदेशले यो आयोजनालाई बहुवर्षीय योजनाको रुपमा अगाडि बढाएको छ ।
हेटौंडा–१० स्थित दूध पाउडर प्लान्ट ४७ करोड रुपैयाँ लागतमा निर्माण गरेपनि सञ्चालनमा आउन सकेको छैन् । उद्योग सञ्चालन गर्ने मोडालिटी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गर्न सकेको छैन । जसले गर्दा उद्योग पूर्णरुपमा स्थापना गरिएपनि सञ्चालन भने भएको छैन । अनुगमनको क्रममा मन्त्री काफ्लेले परियोजना अलपत्र अवस्थामा रहेको भन्दै तत्काल सञ्चालनको वातावरण बनाउन कर्मचारीलाई निर्देशन दिए ।
‘हामीले दुग्ध किसानको समस्यालाई मध्यनजर गर्दै उद्योगमा लगानी गरेका हौं । निर्माण सम्पन्न भएपछि यसरी सञ्चालन नगरी राख्नु राम्रो होइन । यसका लागि सरकारले आवश्यक सहयोग गर्न तयार छ ।’ मन्त्री काफ्लेले उद्योग सञ्चालनको मोडल तत्काल तयार पार्न कृषि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।







