हेटौंडा–४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै
हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न सूचक पूरा गरेसँगै यही भदौ २८ गते शुक्रबार वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।५१ मध्ये २ बटा सूचक भने १५ प्रतिशत मात्रै नतिजा हासिल भएको जनाइएको छ । बालमैत्री स्थानीय शासनयुक्त बडा घोषणा समारोहकैबीच तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको वडाले जनाएको छ । घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ अनुसार यस वडामा १४ हजार ७३५ जनसंख्या रहेको छ ।
१८ वर्षमुनिका बालबालिकाको जनसंख्या ४ हजार २७० छन् । वडामा सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।समुदायस्तरमा र विद्यालय स्तरमा गरी २० वटा बालसमूहलाई क्रियाशील बनाइएको छ । समारोह सम्पन्न गर्न करिब ८ लाख खर्च हुने अनुमान वडाले गरेको छ । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थी, विभिन्न टोलविकास संस्थाका सदस्य, विभिन्न संघ–संस्थाको प्रतिनिधिको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष सिग्देलले बताए । वडासदस्य गीता त्रिपाठीले सोही दिन वडालाई बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने जानकारी दिइन् ।१९ वटा वडा रहेको हेटौंडा उपमहानगरमा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ । यसअघि हेटौंडा–२, ७, ८, १७ र १० नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणा हुने क्रममा रहेको वडा नम्बर ४ हेटौंडा नगरमा छैठौं बालमैत्री वडा घोषणा हुनेछ ।







