हेटौंडाबाट तीन भारतीय नागरिक पक्राउ, अवैध कपडा बरामद
हेटौंडा-भन्सार छली ल्याइएको अबैध लत्ताकपडा तथा बिभिन्न किसिमका सामग्रीसहित हेटौंडाबाट तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।आइतबार प्रहरीचौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीटोलीले भारतीय यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अबैध लत्ताकपडा तथा विभिन्न किसिमका सामानसहित तीनजना भारतीय नागरिक पक्राउ परेको हो । बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसचालक भारत पश्चिम बंगाल जिल्ला मदेनिपुर ग्राम तमलुक बस्ने बर्ष ३१ को सदाम खान, सोही बसको अर्का चालक पश्चिम बंगाल वंकुरा ग्राम रतनपुर बस्ने बर्ष ३८ को काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर ग्राम बस्ने बर्ष ३० को जयदेव हेमराम पक्राउ परेका छन् ।
बसमा खानतलासी गर्दा बसको बिभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली ल्याइएका लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मौजमस्ती द्रोड लेखेको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, ग्यास लाईटर ७ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, किड १२ थान, नोमन लेखेको ठुलो प्याकेट १० थान र पम्प ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
बरामद गरिएको अबैध सामान अन्दाजी ३१ लाख बराबरको रहेको डीएस्पी भण्डारीले बताए । बसका चालक तथा सहचालक खान, मुडी र हेमरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कार्वाहिका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।







