जिल्लास्तरीय प्रधानाध्यापक गोष्ठी, शैक्षिक संस्थामा रेडक्रस अभियान चलाइने

साझाकुरा
२०८१ आश्विन ५, शनिबार १४:४३

हेटौंडा- नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको आयोजनामा जिल्लास्तरीय आधारभूत तथा माविका प्रधानाध्यापक गोष्ठी भएको छ ।जिल्लाका संस्थागत तथा सामुदायिक गरी १०० विद्यालयका प्रधानाध्यापक सहभागी गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रुपमा संचालन गरी जुनियर÷युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, जिल्लास्तरीय जुनियर÷ युवा कोष निर्माणका लागि एक जुनियर÷युवा १० रुपैयाँ सहयोग अभियान संचालन गर्ने, पालिकास्तरीय प्राथमिक उपचार तथा बिपद ब्यबस्थापन लगायत विभिन्न तालिम संचालन गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय शिक्षक नायक गोष्ठी तथा शिक्षक भलिवल प्रतियोगिता संचालन गर्ने लगायत ६ वटा विषयमा महत्वपूर्ण छलफल भइ निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए । रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितिका संयोजक दाहालको अध्यक्षता तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान एवम् नेरेसो बागमती प्रदेश अध्यक्ष भोला रुपाखेतीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

मन्त्री थापाले रेडक्रसको विश्वव्यापी प्रभाव, नेपालमा यसको भूमिका र भविष्यको योजना र बिपत्तिको समयमा गरेको कामको बारे विस्तृत चर्चा गरे । विश्वका धेरै मुलुकमा रेडक्रस गठन भएको र यसमा असंख्य मानिस संलग्न रहेको कुरा उनले स्मरण गराए । मन्त्री थापाले प्रधानाध्यापक गोष्ठीले विद्यार्थीलाई सामाजिक कार्यमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने आदर्श वाक्यलाई उल्लेख गर्दै, प्रमुखअतिथि मन्त्री थापाले रेडक्रसको भूमिका विपत्ति, प्राकृतिक विपद र द्वन्द्वका समयमा अत्यन्त महत्वपूर्ण हुने बताए । आफ्नो व्यक्तिगत अनुभव सम्झदै उनले भूकम्पको समयमा रेडक्रसको भक्तपुर शाखाको उपसभापतिको रुपमा गरेको कामको स्मरण गरे । रेडक्रसमा गरेको कामले आफूलाई जनप्रतिनिधि बन्न सघाउ पुगेको उनको भनाइ थियो ।

शिक्षालाई प्राथमिकता दिँदै गुणस्तर र आकर्षण बढाउनुपर्ने र त्यसपछि रेडक्रसलाई पनि प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो । मन्त्री थापाले विद्यार्थीलाई समस्याग्रस्त क्षेत्रमा मानवीय उद्दारकार्यमा सहभागी हुन प्रोत्साहित गर्नु प्रधानाध्यापकको दायित्व हुने बताए । एम्बुलेन्स र रक्तदान सेवाका लागि रेडक्रस पहिलो रोजाइ हुनुपर्ने कुरामा जोड दिए । बागमती प्रदेशका १३ वटा जिल्लामा सरकारले निःशुल्क ब्लड ब्याग उपलब्ध गराउने कार्य अगाडि बढेको जानकारी दिए ।

गोष्ठीमा मकवानपुर शाखा सभापति लालबहादुर थापाले बिपद्को समयमा स्वयम्सेवक युवादस्ताको अभाव हुन थालेको गुनासो गरे । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले विद्यालयमा हुने सबैखाले अतिरिक्त क्रियाकलापसँग जुनियर÷युवा रेडक्रस सर्कल जोडिनु उपयुक्त हुने बताए । छलपलमा मकवानपुरका सामुदायिक माविहरुमा सबैभन्दा लामो समयदेखि प्रधानाध्यापकको जिम्मेवारी बहन गरिरहेका जनकल्याण मावि पालुङका प्रअ सानोभाइ कार्कीले रेडक्रसकर्मी र विद्यालयबीचमा सुमधुर समन्वय हुन जरुरी रहेको बताए ।

नेरेसो बागमती प्रदेशका सदस्य एवम् जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा, प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदी, जिल्ला शाखाका मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपकोकोषाध्यक्ष मंगल रखाल, सदस्य पिताम्बर बास्तोला, कृष्णबहादुर सापकोटा, नारायण तिमल्सिना, ईश्वर पन्डित, सुन्तलीमाया चेपाङ, कार्यालयप्रमुख लक्ष्मण भट्टराई, लेखाप्रमुख रामजी खतिवडा, जिल्ला जुनियर÷युवा समितिका सदस्यहरु बालकुमार श्रेष्ठ, हिक्मत श्रेष्ठ, कृतिका लौडारी, बिष्णुहरि मिश्र, आमभन्ज्याङ उपशाखा सभापति नानिराम तिमल्सिनालगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*