ज्योति सामुदायिक वनद्वारा २ करोडको अनुमानित आय–व्यय प्रस्तुत

साझाकुरा
२०८१ आश्विन ६, आईतवार १२:३४

हेटौंडा- ज्योति सामुदायिक वन उपभोक्ता समूह हेटौंडा–१८ हर्नामाडी ठूलोदमारको ३१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले चालु आर्थिक वर्ष २०८१÷८२ मा २ करोड ५३ हजारको अनुमानित आय–व्यय तथा विभिन्न कार्यक्रम गर्ने निणर्य पारित गरेको छ । समूहका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष रामबाबु खतिवडाले चालु आवको अनुमानित आय–व्यय प्रस्तुत गर्दै गतवर्षझै यसवर्ष पनि वनविकास, सामुदायिक विकास र गरिबी न्युनीकरणलगायत कार्यक्रम गर्ने लक्ष्य लिएको जानकारी दिए । उनले समूहको भवन निर्माण गर्न ६० लाखको कोष स्थापना गर्ने जानकारी दिए । समूहको कार्यकाल ५ वर्षको हुनेगरी विधान तथा कार्ययोजना संशोधन गर्ने निर्णय भएको छ ।

उनका अनुसार वन व्यवस्थापन कार्यक्रममा वन व्यवस्थापन, सम्वद्र्धनका कार्यक्रम, चरिचरणको व्यवस्थापनसहित वृक्षरोपण, वन्यजन्तु तथा चराचुरु·ीका लागि पोखरी निर्माण, वन सदुपयोगसम्बन्धी कार्यक्रम र उपभोक्तालाई फलफूलका विरुवा वितरण गरिने जानकारी दिए । सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न संघ, संस्थालाई आर्थिक अनुदान, उपचार सहयोग उपलब्ध गराउनुका साथै खेलमैदान स्तरोन्नती, सत्तल निर्माण, थानीमन्दिर निर्माण, प्रतिक्षालय निर्माण्, कुवामर्मत, पर्यटन, पर्यावरण विकासलगायतका कार्यक्रम गरिने उनको भनाई छ ।समूहका अध्यक्ष खतिवडाले गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत महिला सशक्तिकरण, उद्यमशीलता, कृषिमा अनुदान सहयोग, लक्षितवर्गमा अनुदान सहयोग, समूहलाई आर्थिकरुपमा सबल बनाउन साथै समुदायलाई आत्मनिर्भर, शीपमूलक बनाउन आफ्नै काठ प्रशोधन उद्योग सञ्चालन गर्ने र सामुदायिक वनभित्रका खाली ठाउँमा आयआर्जनमूलक खेती लगाउने कार्यक्रम गरिने भनाई राखे ।

प्रमुखअतिथि एवम् हेटौंडा–१८ का वडाअध्यक्ष अनिलकुमार बानियाँले वन समूहको रकम सही ठाउँमा लगानी हुनुपर्नेमा जोड दिए । समूहले लक्षितवर्गलाई छुट्याएको रकमले उनीहरुलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । हर्नामाडीमा रहेका अन्य सामुदायिक वन उपभोक्ता समूहभन्दा यस ज्योति समूहमा आर्थिक पारदर्शिता रहेकाले यो वन समूह १८ नम्बर वडाकै उत्कृष्ट रहेको दाबी समेत गरे । कार्यक्रमका विशिष्ट अतिथि एवम् हर्नामाडी सव–डिभिजन कार्यालयप्रमुख मदन घिमिरेले चालु आवको कार्यक्रममा वनपैदावार चोरी, तस्करी नियन्त्रणका विषय समेट्न आग्रह गरे ।

उनले सव डिभिजनको क्षेत्राधिकारभित्र रहेका १५ वटा सामुदायिक वनमध्ये समयमै साधारणसभा गर्ने ज्योति सामुदायिक वन पहिलो भएकोमा प्रशंसा गरे । समूहका सल्लाहकार संयोजक एवम् वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुणकुमार खतिवडाले समूहको हालसम्मको क्रियाकलाप लोकतान्त्रिक पद्दतीमै रहेको बताए । उनले वन तथा वातावरण जोगाउन निरन्तर लाग्न पनि समूहलाई सुझाव दिए ।

समूहका सचिव राजकुमार श्रेष्ठले आ.व.२०८०÷८१ को आयव्यय प्रस्तुत गरे । ज्योति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार एवम् हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, समूहका पूर्वअध्यक्षको तर्फबाट मंगलसिं लामा, टोल विकास संस्थाका तर्फबाट रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश सिलवाल, समूहका लेखा संयोजक इमानबहादुर थापा, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापा, वडा प्रहरीका ईन्चार्ज उर्मिला रानाले मन्तव्य राखे ।

यसमा तपाइको मत

Your email address will not be published.


*