चित्लाङ स्वास्थ्यचौकी स्थानान्तरण

साझाकुरा
२०८१ आश्विन ७, सोमबार १०:००

हेटौंडा-थाहा नगरपालिका–९ मा रहेको चित्लाङ स्वास्थ्यचौकी नयाँ भवनमा स्थानान्तरण भएको छ । ९ नम्बर वडाको माझगाउँमा रहेको स्वास्थ्यचौकी टुप्पीखेलस्थित नयाँ भवनमा स्थानान्तरण गरिएको हो ।भवन निर्माण सम्पन्न भएसँगै साँझेदार संस्था च्वाइस नेपालले २७ वैशाख, २०८१ मा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नवनिर्मित भवनको उद्घाटन गरिएको थियो । भवन निर्माण भई पालिकालाई हस्तान्तरण भएपछि थाहा नगरपालिकाले नयाँ भवनबाट सेवाप्रवाह गर्नका लागि ३० साउनमा स्वास्थ्यचौकीलाई परिपत्र गरेको थियो ।

स्वास्थ्यचौकी नयाँ भवनमा स्थानान्तरण गर्ने क्रममा १७ भदौमा केही स्थानीयले असहमति जनाएको भएपनि ५ असोजमा सहमति भइ नयाँ भवनमा स्थानान्तरण गरिएको हो । नयाँ भवनबाट सेवाप्रवाह गर्ने विषयमा ३१ भादौमा थाहानगरप्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा नगरस्थित राजनीतिक दलका प्रमुख र सरोकारवालाबीच नगरपालिकामा छलफल भएको थियो ।

लामो समयदेखि चित्लाङ स्थित माझगाउँमा संचालनमा रहेको स्वास्थ्यचौकी भवन मापदण्ड अनुसार नभएकोले च्वाइस नेपालको सहयोगमा मापदण्ड अनुसार भवन निर्माण गरी स्थानान्तरण गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । मापदण्डसहितको नवनिर्मित १४ कोठे स्वास्थ्यचौकी भवन निर्माणका लागि कूल २ करोड ९ हजार ४ सय ७० रुपैयाँ लागत अनुमान रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*