दुई प्रदेश प्रमुखको मुस्लिम समुदायद्वारा स्वागत
हेटौंडा- मकवानपुरका मुस्लिम समुदायले दुईवटा प्रदेशका प्रदेशप्रमुखको स्वागत तथा सम्मान गरेको छ । मुस्लिम समुदाय मकवानपुरले सोमबार हेटौंडा–४ जामे मस्जिदमा एक कार्यक्रमको आयोजनामा गरी प्रदेशप्रमुखलाई स्वागत तथा सम्मान गरेको हो ।बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटा र सुदुरपश्चिम प्रदेशका प्रदेशप्रमुख नजिर मियाको स्वागत गरिएको हो । बागमती प्रदेशका प्रदेशप्रमुख देवकोटाले आपसी भाइचारा र मेलमिलापले खुशी र समृद्धि ल्याउने बताए ।
नेपाल एक धर्म निरपेक्ष मुलुक रहेको स्मरण गर्दै उनले संविधानको प्रस्तावनामै विविधतालाई आत्मसात् गरिएको उनले बताए । उनले आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरुको स्वतन्त्रता हनन् हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सु–संस्कृत हुने उल्लेख गरे ।यस्तै, स्वागत कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख मियाले सम्पूर्ण मुस्लिम समुदाय एकढिक्का हुनुपर्ने बताउँदै हकअधिकारको लागि हातेमालो गरेर अगाडि बढेमात्रै पहिचानसहितको अधिकार प्राप्त गर्न सकिने उल्लेख गरे । कार्यक्रम अगुवा महमद समिम खानको सभाध्यक्षतामा भएको हो ।







