बागमतीमा साउनपछि साढे ९ हजार पुगे डेंगु संक्रमित

हेटौंडा-बागमती प्रदेशमा चालू आर्थिक वर्षको साउनयता डेंगुबाट संक्रमित हुनेको संख्या साढे ९ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तत्थ्यांकअनुसार साउनयता प्रदेशका १३ जिल्लामा डेंगुबाट नौ हजार ६३२ जना संक्रमित भएका छन् । यस्तै, दुईजनाको ज्यान गएको छ ।मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालका अनुसार चालू आवको साउन महिनामा जम्मा ८७८ जना संक्रमित रहेको प्रदेशमा कात्तिकको पहिलो हप्तासम्म संक्रमितको संख्या बढेर साढे नौ हजार नाघेको हो । उनले साउन, भदौ, असोज र कात्तिकको पहिलो हप्तासम्म डेंगुबाट संक्रमित हुनेको संख्या प्रत्येक महिना झन्डै दोब्बरले बढेको जानकारी दिए ।
मन्त्रालयको तथ्यांक अनुसार साउनमा ८७८ जना डेंगुका संक्रमित रहेकोमा भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८ र कात्तिकको पहिलो हप्तामै संक्रमितको संख्या एक हजार ७५ पुगेको छ । गत आव ०८०÷८१ मा यही अवधिमा बागमती प्रदेशका १३ जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या लगभग साढे आठ हजार थियो ।प्रदेशको स्वास्थ्य मन्त्रालयको तत्थ्यांकअनुसार चालू आवको हालसम्म बागमती प्रदेशमा डेंगुबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी काठमाडौंमा रहेको छ । यहाँ अहिलेसम्म तीन हजार ८८ जना संक्रमित भएका छन् । यस्तै, काठमाडौंपछि चितवनमा दुई हजार ५८१, मकवानपुरमा एक हजार ३०४, ललितपुरमा ९६६ जना संक्रमित भएका छन् ।
यसैगरी, भक्तपुरमा ३५६, नुवाकोटमा ३३७, काभ्रेमा २१५, दोलखामा १२४, सिन्धुपाल्चोकमा ८३, रामेछापमा ३८, सिन्धुलीमा ३६ र सबैभन्दा कम रसुवामा एकजना संक्रमित भएका छन् । मन्त्रालयका सूचना अधिकारी डा. भुषालले पानी पर्ने क्रम रोकिएकाले डेंगुको संक्रमण केही कम हुने भए पनि अझै एक–दुई महिना सचेत रहनुपर्ने बताए । उनले डेंगु संक्रमणको जोखिम अझै रहेकाले सचेत रहन र सावधानी अपनाउन आग्रह गरे । विशेषगरी डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डीमा जमेको सफा पानी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने उनको सुझाव छ ।